Shittalpati
नेवार समुदायको गुँला पर्व  आजदेखि सुरु

पाल्पा, बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व गुँला पर्व आजदेखि आरम्भ भएको छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने यस पर्वका अवसरमा विभिन्न बौद्ध विहार, चैत्य तथा स्तूपमा धार्मिक गतिविधि सुरु भएका छन् ।

गुँला पर्वलाई बौद्ध धर्मावलम्बीले धर्म, साधना र पुण्य सञ्चय गर्ने विशेष अवसरका रूपमा लिने गर्छन् । पर्व अवधिभर श्रद्धालुहरू बिहानै उठेर विभिन्न बौद्ध तीर्थस्थल तथा चैत्यको दर्शन र परिक्रमा गर्ने, बुद्धको उपदेश तथा धार्मिक ग्रन्थको पाठ गर्ने र ध्यान तथा पूजाआजामा सहभागी हुने परम्परा छ । नेपाल संवतको गुँला महिनासँग सम्बन्धित भएकाले यस पर्वलाई ‘गुँला पर्व’ भनिएको हो । नेपाल संवतको पात्रोमा गुँला वर्षको एक महत्वपूर्ण महिना मानिन्छ र यो करिब साउन–भदौको अवधिसँग मेल खान्छ । गुँला पर्वको अर्को विशेष आकर्षण गुँला बाजा हो ।

पर्वका अवसरमा बौद्ध समुदायका बाजा खलः तथा धार्मिक समूहले परम्परागत बाजा बजाउँदै चैत्य तथा विहारको परिक्रमा गर्ने चलन छ । विशेषगरी काठमाडौं उपत्यकामा गुँला बाजाको धार्मिक तथा सांस्कृतिक प्रस्तुति पर्वको महत्वपूर्ण पक्षका रूपमा रहँदै आएको छ । पर्वमा सांस्कृतिक बाजा गाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । नेपाल संवत अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने गर्दछ ।  तानसेनमा पनि नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् । गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । 

यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । खेतीपाती सकेर मानिसहरु फुर्सद हुने र अन्य चाडबाडलाई पनि मध्यनजर गरी खुशीयाली साट्ने पर्व हो । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताकोसमेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।

गुँलामा श्रभेरी अर्थात् सिङ बाजा फुकाउने चलन राजा सिद्धिनरसिंह मल्लले सुरुवात गरेको परम्परा मानिन्छ । श्रभेरी कथाअनुसार मृतकको नाममा स्वयम्भू महाचैत्यमा श्रबाजा बजाई परिक्रमा गर्ने र पूजा गर्ने चलन छ । आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रभावका बीच पनि पुस्तौँदेखि चलिआएको गुँला पर्वलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने प्रयास भइरहेको छ । धार्मिक अनुष्ठान, परम्परागत बाजा र सामूहिक सहभागितामार्फत गुँला पर्वले नेपालका मौलिक सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पु¥याउँदै आएको छ । एक महिनासम्म चल्ने यस पर्वले धार्मिक आस्था मात्र नभई नेपालको बहुसांस्कृतिक पहिचान र नेवार समुदायको समृद्ध सांस्कृतिक सम्पदालाई समेत उजागर गर्ने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update