Shittalpati
विपत्मा सजग रहौँ

हाल मनसुन पूर्णरूपमा सक्रिय हुँदै गएको छ । मौसमविद्हरूले आगामी केही दिनदेखि देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी दिर्दै आएका छन् । यो अवधिमा बाढी, पहिरो, डुबान र नदी कटानका घटना अझ बढ्नसक्ने सम्भावना प्रबल रहेको छ । सामान्यतया जेठदेखि भदौसम्म रहने चार महिनाको मनसुनले देशभर पर्याप्त वर्षा गराएर कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । तर यही वर्षाले बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध, पूर्वाधार क्षति तथा धनजनको अपूरणीय नोक्सानी पनि निम्त्याउने गर्छ । यसकारण मनसुनलाई केवल प्राकृतिक प्रक्रिया नभई अवसर र चुनौती दुवैका रूपमा बुझ्न आवश्यक छ ।

प्राकृतिक तथा मानव सिर्जित विपत् मानव जीवनका लागि गम्भीर चुनौती हुन् । भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, हावाहुरी, महामारीजस्ता विपत् जुनसुकै समयमा पनि आउन सक्छन् । विपत्लाई पूर्ण रूपमा रोक्न नसकिए पनि पूर्वतयारी, सावधानी र सचेतनाबाट यसबाट हुने मानवीय तथा भौतिक क्षति भने निकै कम गर्न सकिन्छ । त्यसैले “विपतमा सजग रहौँ, सुरक्षित जीवन बाँचौँ” भन्ने भावना सबैमा विकास हुनु आवश्यक छ । नेपाल भौगोलिक तथा प्राकृतिक दृष्टिले विपत्को उच्च जोखिममा रहेको देश हो । वर्षायाममा बाढी र पहिरो, सुख्खायाममा डढेलो तथा आगलागी र जुनसुकै समयमा भूकम्पजस्ता विपत् आउन सक्छन् । यस्ता विपत्का समयमा आत्तिनेभन्दा संयमित भएर सही निर्णय लिनु महत्वपूर्ण हुन्छ ।

विपत् आउनुअघि नै सुरक्षित स्थान पहिचान गर्ने, आवश्यक सामग्रीसहित आपत्कालीन झोला तयार राख्ने, प्राथमिक उपचारको ज्ञान हासिल गर्ने र परिवारका सदस्यबीच आपत्कालीन योजना बनाउने जस्ता कामले ठूलो सहयोग पु¥याउँछन् । विपत् व्यवस्थापन केवल सरकार वा सुरक्षा निकायको जिम्मेवारी मात्र होइन । प्रत्येक नागरिकले आफ्नो घर, विद्यालय, कार्यालय र समुदायलाई सुरक्षित बनाउन भूमिका खेल्नुपर्छ । जोखिमयुक्त स्थानमा अनियन्त्रित रूपमा घर निर्माण नगर्ने, नदी तथा खोलाको किनारमा जथाभावी बस्ती नबसाल्ने बानी बसाल्नुपर्छ ।  विपत्को समयमा अफवाह फैलाउनुको सट्टा सम्बन्धित निकायबाट प्राप्त आधिकारिक सूचना पालना गर्नु पनि उत्तिकै आवश्यक छ । विपत् आएपछि मात्र सावधानी अपनाउने होइन, विपत् आउनुअघि नै तयारी गर्नु बुद्धिमानी हो । तसर्थ विपत्लाई दोष दिएर बस्नुको सट्टा आजैदेखि आवश्यक तयारी गरौँ र आफू, आफ्नो परिवार तथा समुदायलाई सुरक्षित बनाऔँ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update