Shittalpati
अवैध लागूऔषध सहित १६ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँके, पर्सा, काठमाडौं, कञ्चनपुर, धनुषा, सिराहा र कैलालीबाट ब्राउनसुगर, गाँजा तथा खैरो हेरोइन जस्तो देखिने पदार्थसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँकेकोखजुरा गाउँपालिका–३, बी गाउँबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३४ वर्षीय सुमन थापा मगर समेत छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस्तै पर्साको बिन्दवासिनी गाउँपालिका–४, मधवलबाट करिब ३९ किलो २ सय ५० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ का २३ वर्षीय दिपेश तामाङ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरीयासमेतबाट खटिएको प्रहरीले वीरगन्जबाट भिष्वातर्फ जाँदै गरेको बा.८७ प ७८७० नम्बरको मोटरसाइकलमा सवार तामाङलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै काठमाडौं महानगरपालिका–९, बत्तीसपुतलीबाट करिब ६ सय ६० ग्राम गाँजासहित सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्तबहादुर तामाङ पक्राउ परेका छन् । उनी काठमाडौं महानगरपालिका–८, पशुपति क्षेत्रमा बस्दै आएका थिए । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस्तै, चन्द्रागिरि नगरपालिका–८, धास्कीमा डेरा गरी बस्ने चितवनका ३२ वर्षीय सुगम मैनालीसहित पाँच जनालाई करिब २ किलो २ सय १६ ग्राम गाँजा जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मातातीर्थबाट खटिएको टोलीले सुगमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि उनीहरूलाई  पक्राउ गरेको हो ।यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कंजबाट करिब २ ग्राम ९ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका ३२ वर्षीय कमलेश राना र २६ वर्षीय बलराम राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीसहितबाट खटिएको प्रहरीले आइतबार बिहान उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ बाट १ ग्राम ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २८ वर्षीय समिरकुमार साह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो ।

यस्तै सिराहाको गोलबजार नगरपालिका–८, पुरानो चौहर्वाबाट करिब ४ ग्राम ५६ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित गोलबजार नगरपालिका–६ का २३ वर्षीय जयकुमार नायक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै कैलालीको घोडाघोडी नगरपालिका–२, नयाँबजारबाट १ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बर्दगोरिया गाउँपालिका–१ का २१ वर्षीय संजिप चौधरी पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोस्ट साडेपानीबाट खटिएको प्रहरीले से.१ प ९४०७ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई  पक्राउ गरेको हो । यस्तै, धनगढी उपमहानगरपालिका–३, बोराडाँडीबाट २ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३० वर्षीय बबि राना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update