पाल्पा,पाल्पा प्रहरीले ठूलो परिमाणमा अवैध मदिरासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार विशेष सूचनाका आधारमा तिनाउ गाउँपालिका–३, पैठेडाँडा चेकपोष्टमा गरिएको सवारी साधन जाँचका क्रममा भारतको गोरखपुरबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ३२ एसटी ४२८६ नम्बरको कारबाट अवैध मदिरा फेला परेको हो ।
विहीबार राति प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उक्त कारलाई रोकी खानतलासी गर्दा इमि ःयलप ब्रान्डको ७५० एमएलका ६११ बोतल तथा क्ष्नलबतगचभ ब्रान्डको ७५० एमएलका १२ बोतल गरी जम्मा ६२३ बोतल मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । बरामद मदिराको अनुमानित मूल्य रु. ७ लाख ५१ हजार २०० बराबर रहेको छ । प्रहरीका अनुसार कार चालक भारत, लखनउ निवासी ३७ वर्षीय एमा मोदिन र सोही कारमा सवार भारत, एटा निवासी ४३ वर्षीय शिवनाथ मौर्यलाई पक्राउ गरेको हो । बरामद मदिरा, प्रयोग गरिएको सवारी साधन तथा पक्राउ परेका दुवै व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्र हुँदै अवैध रूपमा मदिरा तथा अन्य प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण गर्न पाल्पा प्रहरीले नियमित रूपमा चेकजाँचलाई प्रभावकारी बनाउँदै आएको र यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ ।


