स्याङ्जा, स्याङ्जामा बाघको आक्रमणबाट १२ वटा बाख्रा मरेका छन् । यहाँको गल्याङ नगरपालिका–५ रुपखानी र कालिगण्डकी गाउँपालिका–७ मिर्मि स्थित क्याम्पसरोडमा बाघको आक्रमणबाट १२ वटा बाख्रा मरेका हुन् ।
गल्याङ नगरपालिका–५ रुपखानीमा बाघको आक्रमणबाट एकै घरका १० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरीका अनुसार सोमबार राति रुपखानी निवासी श्याम रानाको घर नजिक रहेको बाख्राको खोरमा बाघले आक्रमण गरेको हो । आक्रमणका क्रममा खोरमा रहेका साना–ठूला गरी १० वटा बाख्रा तथा बोकामध्ये ९ वटा घटनास्थलमै मृत अवस्थामा फेला परेका छन् । एउटा बाख्रा भने बाघले लगेको बताइएको छ । उक्त बाख्रा हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जयपते, स्याङ्जाबाट प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेको थियो । प्रहरीको टोलीले घटनाबारे आवश्यक अनुसन्धान तथा क्षतिको विवरण संकलन गर्ने कार्य अघि बढाएको जनाएको छ ।
यस्तै बुधबार राती यहाँको कालिगण्डकी गाउँपालिका वडा नम्वर –०७ मिर्मि स्थित क्याम्पसरोड बस्ने विनिता भट्टराईको बाख्राको खोरमा रहेको २ वटा बाख्रालाई बाघले आक्रमण गरी मारेको छ । इलाका प्रहरी कार्यालय जयपते स्याङ्जाबाट प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेको थियो । प्रहरीको घटनाबारे आवश्यक अनुसन्धान तथा क्षतिको विवरण संकलन गर्ने कार्य अघि बढाएको छ ।
हालैका दिनमा वन क्षेत्र नजिकका बस्तीमा वन्यजन्तुको आवतजावत बढ्दै जाँदा चौपायामाथि हुने आक्रमणका घटना पनि बढ्न थालेका छन् । यस घटनापछि रुपखानी क्षेत्रका स्थानीयवासी थप त्रसित बनेका छन् । स्थानीयले वन्यजन्तुको नियन्त्रण, बस्तीको सुरक्षा तथा पीडित किसानलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने सम्बन्धित निकायसँग आवश्यक समन्वयसमेत भइरहेको छ ।


