पोषण, स्वास्थ्य, वातावरणीय अनुकूलता र आर्थिक सम्भावनाका दृष्टिले अत्यन्त महत्वपूर्ण बालीको रुपमा रहेको कोदो खेती हिजो आज भने क्रमशः ओझेलमा पर्दै गएको छ । आधुनिक कृषि नीति, बजार पहुँचको अभाव, प्रशोधन उद्योगको कमी र युवापुस्ताको खेतीप्रतिको घट्दो आकर्षणका कारण यसको उत्पादन क्षेत्र खुम्चिँदै गएको छ । उचित मूल्य, ब्रान्डिङ र बजार व्यवस्थापनको अभावले किसान पनि निरुत्साहित भएका छन् ।
कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । थोरै खाएर पनि पेट भरिने र धेरै पोषण तत्व प्राप्त गर्न सकिने बालीको रूपमा कोदोलाई लिइन्छ । यसको खेती कम मलिलो तथा सुख्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ । कोदोबाट ढिंडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो । भाते बानीको संस्कृतिमा हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालीको भान्छामा पनि कम महत्व दिने गरेको पाइन्छ । तर पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । महत्व र उपयोगिता बढ्दै गए पनि खेती गर्ने प्रचलन भने घट्दै जानु दुखद् हो । जलवायु परिवर्तन, खाद्य असुरक्षा र कुपोषणजस्ता चुनौती बढिरहेका बेला कोदोको उत्पादन, उपभोग र बजारीकरणलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ ।
कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, आइरन, फाइबर तथा अन्य आवश्यक पोषक तत्व पाइन्छ । मधुमेहका बिरामी, वृद्धवृद्धा र स्वास्थ्यप्रति सचेत व्यक्तिका लागि यो निकै उपयोगी खाद्यान्न मानिन्छ । यति धेरै महत्व हुँदाहुँदै पनि कोदो खेतीले अपेक्षित प्राथमिकता पाएको छैन । सरकारले गत वर्षदेखि राष्ट्रिय कोदो दिवस मनाउँदै आएको छ । यस वर्ष पनि दोस्रो पटक राष्ट्रिय कोदो दिवस मनाइएको छ । यस वर्षको नारा ‘कोदोबाली संरक्षण र प्रवद्र्धन : खाद्य तथा पोषण सुरक्षा संवर्धन’ रहेको छ । तर पनि यो खेती प्रवद्र्धनमा सरकारले बजेट नै छुट्याएको पाइँदैन । अघिकांश स्थानीय तहले पनि रैथाने बालीको संरक्षण तथा प्रवद्र्धन गर्दै उत्पादन वृद्धि गरिने नीति यसतर्फ बजेट छुट्याएको पाइँदैन । अब सरकारले कोदो उत्पादनलाई प्रोत्साहन गर्न नीतिसँगै बजेट विनियोजन गर्न जरुरी छ । निजी क्षेत्रले पनि कोदोका मूल्यवद्र्धित उत्पादन विकास गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा सक्रिय भूमिका खेल्नुपर्छ । कोदो केवल परम्परागत अन्न होइन, यो स्वस्थ जीवन, दिगो कृषि र आत्मनिर्भर अर्थतन्त्रको आधार बन्न सक्ने सम्भावनायुक्त बाली हो । तसर्थ किसान, उपभोक्ता, निजी क्षेत्र र सरकार सबैले मिलेर कोदोको उत्पादन, उपभोग र प्रवद्र्धनमा जोड दिन जरुरी छ ।

