पाल्पा, पछिल्लो समय बदलिँदो श्रम बजार, सीपयुक्त जनशक्तिको माग र स्वरोजगारका अवसर विस्तारसँगै प्राविधिक शिक्षा आजको रोजगारीमुखी शिक्षाको प्रमुख आधार बन्दै गएको छ । तर आर्थिक अवस्था कमजोर भएका परिवारका धेरै विद्यार्थीका लागि भने प्राविधिक विषय अध्ययन गर्ने चाहना शुल्क र अवसरको अभावले अधुरै रहने गरेको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै २०७५ मा प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले पाल्पाको तानसेन नगरपालिका–९,दमकडामा सञ्चालनमा आएको मदनपोखरा बहुप्राविधिक शिक्षालयले स्थानीय सरकारसँग सहकार्य गर्दै विद्यार्थीलाई निःशुल्क तथा सहुलियतमा प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतको यो एकमात्र आंगिक शिक्षालयले पछिल्ला वर्षहरूमा प्राविधिक शिक्षाप्रति स्थानीय विद्यार्थीको आकर्षण बढाउन यहाँका स्थानीय तहसँग समन्वय गर्दै आएको हो ।
शैक्षिक सत्र २०८३÷०८४ लाई लक्षित गर्दै शिक्षालयले पाल्पाका सबै १० स्थानीय तहसँग छात्रवृत्ति व्यवस्थाका लागि पहल गरिरहेको छ । हालसम्म रिब्दिकोट गाउँपालिकाले ५ जना, तिनाउ गाउँपालिकाले ६ जना, माथागढी गाउँपालिकाले ८ जना र निस्दी गाउँपालिकाले केही विद्यार्थीलाई आफूले रोजेको डिप्लोमा कार्यक्रम अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । यसको प्रभावस्वरूप पाल्पासँगै गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी तथा मधेश, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि यहाँ आउने क्रम बढ्दो छ ।
स्थानीय सरकारसँगको सहकार्यले आर्थिक अभावका कारण प्राविधिक शिक्षाबाट बञ्चित विद्यार्थीलाई अवसर उपलब्ध भएकै कारण अहिले विद्यार्थीहरुको आकर्षण बढ्दो रहेको शिक्षालय प्रमुख प्रदिपराज पाण्डेले बताए । उनका अनुसार आगामी दिनमा अन्य स्थानीय तहहरुसँग पनि सहकार्य विस्तार गर्ने प्रयास भइरहेको छ । स्थानीय तहसँगको सहकार्यमा मात्र सीमित नभई शिक्षालयले गैरसरकारी संस्थासँग पनि साझेदारी गर्दै आएको छ । शैक्षिक सत्र २०८२ देखि मातृसेवा प्रतिष्ठान नेपाल, ललितपुरले आर्थिक रूपमा विपन्न परिवारका छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
गत वर्ष सात जना छात्राले उक्त छात्रवृत्तिमा डिप्लोमा तहको पशु विज्ञान अध्ययन गरिरहेका छन् भने यस वर्ष दलित समुदायका पाँच जना छात्रालाई लक्षित गर्दै पुनः पशु विज्ञान अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ । स्थानीय सरकार र विभिन्न संस्थाको सहकार्यले प्राविधिक शिक्षामा पहुँच विस्तार हुनुका साथै विद्यार्थीको रुचि पनि उल्लेखनीय रूपमा बढ्दै गएको शिक्षालय प्रमुख पाण्डेले बताए । स्थापनाकालदेखि नै शिक्षालयले कृषि बाली विज्ञान, पशु विज्ञान, वन विज्ञान तथा सूचना प्रविधि विषयमा डिप्लोमा/प्रमाणपत्र तह सञ्चालन गर्ने स्वीकृति पाए पनि हाल बाली विज्ञान, पशु विज्ञान र सूचना प्रविधि कार्यक्रम सञ्चालनमा छन् । वन विज्ञान कार्यक्रम भने सञ्चालनमा आएको छैन । शिक्षालयका अनुसार बाली विज्ञानमा आवेदन अत्यन्त न्यून रहेकाले यस वर्ष भर्ना सञ्चालन गर्न कठिन भएको छ ।
सूचना प्रविधि र पशु विज्ञान कार्यक्रममा भने करिब ५० प्रतिशत हाराहारीमा भर्ना भइरहेको छ । सरकारी विद्यालयबाट एसइई उत्तीर्ण गरी वर्गीकृत छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले सूचना प्रविधिमा पाँच जना तथा बाली विज्ञान र पशु विज्ञानमा चार–चार जनाले पूर्ण निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था छ । साथै दलित, आदिवासी÷जनजाति, महिला, विपन्न तथा पाल्पा जिल्लाका विद्यार्थीलाई शिक्षालयको नियमअनुसार अत्यन्त न्यून शुल्कमा अध्ययन गर्ने सुविधा पनि उपलब्ध छ । यस वर्ष मात्रै ४० भन्दा बढी विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था गरिएको शिक्षालयले जनाएको छ ।
पूर्ण शुल्क तिर्ने विद्यार्थीका लागि समेत तीन वर्षे डिप्लोमा अध्ययनको कुल शुल्क जम्मा ५० हजार रुपैयाँ मात्र निर्धारण गरिएको छ, जुन निजी शिक्षालयको तुलनामा निकै सस्तो मानिन्छ । छात्रवृत्ति र सहुलियतमार्फत अवसरको ढोका फराकिलो बनाउँदै शिक्षालयले प्राविधिक शिक्षा सबैका लागि पहुँचयोग्य बनाउन निरन्तर प्रयास गरिरहेको छ । तत्कालीन समयमा मदनपोखरावासीको माग र पुर्वमन्त्री सोमप्रसाद पाण्डेको विशेष पहलमा प्राविधिक शिक्षालयको रुपमा डिप्लोमा तहका कृषि, पशुु विज्ञान तथा इन्जिनियरिङ विषय अध्ययन, अध्यापन गराउने गरी सञ्चालनमा ल्याइएको थियो ।


