Shittalpati
शिक्षित आमामाझ घट्दो स्तनपान : नवजातको स्वास्थ्यमा बढ्दो चुनौती

पाल्पा, शिशु जन्मेको केही घण्टामै आमाको काखमा टाँसिएर दूध चुस्न थालेको दृश्यले नयाँ जीवनको सुरुवात मात्र होइन, स्वस्थ भविष्यको आधार पनि तयार गरिरहेको हुन्छ । तर पछिल्ला वर्षहरूमा भने पूर्ण स्तनपान गराउने आमाहरूको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन् । अझ अचम्म त के छ भने, विद्यालय तथा विश्वविद्यालयको उच्च शिक्षा हासिल गरेका, स्वास्थ्यसम्बन्धी जानकारीमा पहुँच भएका धेरै आमाहरू नै पूर्ण स्तनपानबाट टाढिँदै गएका छन् ।
    

तीन महिनाअघि सुत्केरी भएकी तानसेनकी ३० वर्षीया मिना थापाले बच्चा जन्मिएको डेढ महिनामै डेरीको दूध खुवाउन थालिन् । कारण थियो—प्रसूति बिदा सकिनु र कार्यालय फर्किनुपर्ने बाध्यता । “मेरो दूध पुगेन जस्तो लाग्यो, त्यसैले डेरीबाट लिएर दूध सुरु गरें,” उनले भनिन् । थापा एक्लो उदाहरण होइनन् ।  काम, अध्ययन, करिअरको दवाब र शरीरको सौन्दर्य बिग्रने भ्रमका कारण धेरै आमाले आफ्ना शिशुलाई पूर्ण स्तनपान गराउन सकेका छैनन् । दुई वर्ष अघि चार महिनाको छोरा घरमा हेरालुको जिम्मा लगाएर कार्यालय जानुपर्ने बाध्यता थियो गुल्मीकी मनिषा भण्डारीको । प्रसूति बिदा सकिएपछि नियमित कार्यालय जानुपर्ने बाध्यताले उनले छोरालाई चाहेजति स्तनपान गराउन सकिनन् ।

विस्तारै छोराले आमाको दूध खानै छाड्यो । त्यसपछि ल्याक्टोजिन, डेरीको दूध र सेरलेक्सकै भरमा उसको बाल्यकाल बित्यो । “कार्यालयबाट घर फर्कने निश्चित समय हुँदैनथ्यो । त्यसैले छोरालाई पर्याप्त स्तनपान गराउन सकिनँ” उनले भनिन् । भण्डारीका अनुसार पर्याप्त आमाको दूध नपाएका कारण छोरा सानोतिनो रोगले पनि पटक–पटक बिरामी पर्ने गरेको छ ।  बागलुङ घर भई हाल तानसेनमा बस्दै आएकी  सिर्जना बोहोराले छोरीलाई छ महिनासम्म नियमित स्तनपान गराइन् । तर सात महिनापछि भने शरीरको बनावट बिग्रने डरले स्तनपान बन्द गरिन् । त्यसयता डेरीको दूध नै छोरीको मुख्य आहार बन्यो । “धेरैले बच्चालाई लामो समय दूध चुसाउँदा शरीर बिग्रन्छ भनेका थिए । त्यसैले डेरीको दूध खुवाउन थालेँ,” उनले भनिन् ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । उनीहरूजस्तै अधिकांश कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउँदैनन् । विश्व स्वास्थ्य संगठन र युनिसेफले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गरेका छन् । आमाको दूधमा शिशुको वृद्धि, विकास र रोग प्रतिरोधात्मक क्षमताका लागि आवश्यक सम्पूर्ण पोषक तत्व हुने भएकाले यसलाई शिशुको पहिलो र सबैभन्दा उत्तम आहार मानिन्छ । स्वास्थ्यकर्मीहरूका अनुसार शिक्षित महिलामा जानकारीको कमीभन्दा पनि व्यवहारगत चुनौती बढी देखिन्छ ।

जागिरको व्यस्तता, छोटो प्रसूति बिदा, कार्यस्थलमा स्तनपानमैत्री वातावरणको अभाव, शरीरको सौन्दर्य बिग्रने चिन्ता, सामाजिक सञ्जालको प्रभाव र फार्मुला दूधको बढ्दो प्रयोगले पूर्ण स्तनपानमा असर गरिरहेको छ । शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम र कार्य शरीरलाई फिट्नेस र सौन्दर्य राख्ने सौखिन महिलाहरूले आफ्ना बच्चालाई पूर्ण स्तनपान गराउने मामिलामा कमजोर देखिन्छन् । तर चिकित्सकहरू भने बच्चालाई दूध चुसाउँदैमा शरीर नबिग्रने बताउँछन् । बच्चालाई स्तनपान गराउँदा न आमाको शरीर बिग्रिन्छ न स्वास्थ्य, बरु नियमित स्तनपान गराउने आमा सुन्दर र स्वस्थ हुने बालरोग विशेषज्ञ डा. विकासराज अधिकारी बताउन्छन् । 

“कतिलाई स्तनपानले शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम छ । यो भ्रममात्र हो । स्तनपान गराउने नगराउनेभन्दा बढी सुन्दर हुन्छन्”, उनले भनिन्, “बच्चालाई नियमित स्तनपान गराउनेको स्तन चाँडै नै पहिलैकै जस्तोे सामान्य आकारमा फर्किन्छ, जुन कुरा धेरैलार्ई थाहा छैन ।” नियमित स्तनपान गराइएका बच्चा पूर्ण रूपमा स्वस्थ हुने डा. अधिकारीले बताए । नियमित स्तनपान गराउने आमाहरूमा स्तन क्यान्सर, ओभरी क्यान्सर, हाइ ब्लड प्रेसर जस्ता रोगको जोखिम नहुने उनको भनाइ छ ।

अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुवातमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उनले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताए । पूर्ण स्तनपान गराइएका शिशुहरूमा झाडापखाला, निमोनिया, कुपोषण, कानको संक्रमण तथा अन्य संक्रामक रोगको जोखिम कम हुने अध्ययनहरूले देखाएका छन् । यसले शिशुको बौद्धिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ ।  कतिपय शिक्षित आमाहरूले शिशु धेरै रोएपछि “मेरो दूध पुगेन” भन्ने ठान्छन् । तर चिकित्सकहरूका अनुसार शिशु बारम्बार दूध खोज्नु सामान्य प्रक्रिया हो । यसलाई दूध नपुगेको संकेत मान्नु वैज्ञानिक रूपमा सही होइन । नियमित स्तनपान गराउँदा शरीरले स्वतः आवश्यक मात्रामा दूध उत्पादन गर्छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update