विश्व स्तनपान सप्ताह आजदेखि नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । यो दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापीरूपमा मनाइन्छ । यो सप्ताहको मुख्य उद्देश्य स्तनपान र यसको महत्वका बारेमा जनचेतना फैलाउनु, वकालत गर्नु र प्रभावकारी ढंगले आमाहरुको स्तनपान गर्ने बानी–व्यवहारमा परिवर्तन ल्याउनु हो ।
स्वस्थ, सक्षम र समृद्ध समाज निर्माणको आधार जीवनको सुरुआती चरणमै राखिन्छ, र त्यसको सबैभन्दा महत्वपूर्ण माध्यममध्ये स्तनपान एक हो । विश्व स्वास्थ्य संगठन र युनिसेफले जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्न, पहिलो छ महिनासम्म केवल आमाको दूध मात्र खुवाउन तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिन सिफारिस गरेका छन् । आमाको दूध शिशुका लागि सम्पूर्ण पोषण, रोग प्रतिरोधात्मक क्षमता र भावनात्मक सुरक्षाको प्राकृतिक स्रोत हो । यसले कुपोषण, संक्रमण तथा विभिन्न रोगहरूको जोखिम कम गर्नुका साथै शिशुको मानसिक र शारीरिक विकासमा उल्लेखनीय योगदान पु¥याउँछ । स्तनपानको लाभ केवल शिशुमा सीमित छैन् । यसले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर तथा अन्य स्वास्थ्य समस्याको जोखिम घटाउन मद्दत गर्ने तथ्य विभिन्न अध्ययनले देखाएका छन् । साथै, आमा र शिशुबीचको भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने माध्यम पनि स्तनपान नै हो । यद्यपि, आधुनिक जीवनशैली, बढ्दो व्यावसायिक दबाब, पर्याप्त मातृत्व बिदाको अभाव, सार्वजनिक स्थानमा स्तनपानप्रतिको संकोच तथा कृत्रिम दूधको आक्रामक बजार प्रवद्र्धनजस्ता कारणले स्तनपानको अभ्यास चुनौतीपूर्ण बन्दै गएको छ । बच्चा जन्मेको जति सक्दो छिटो वा एक घण्टाभित्र स्तनपान गराउनु, पूर्ण स्तनपान अर्थात् ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा सुरु गरी कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि खुवाइराख्नु स्तनपानको मूल सन्देश हो । तर पछिल्ला वर्षहरूमा शिक्षित र सहरिया आमाहरू नै स्तनपान गराउने मामिलामा उदासीन देखिन थालेका छन् । यो अत्यन्त दुखको कुरा हो । सरकारले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम आयोजना गर्छ, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काको देखासिखी, विभिन्न भ्रामक विज्ञापनको प्रभाव र आफ्नै अहंले गर्दा पनि जानी–जानी शिक्षित मानिएका आमाहरू नै सन्तानको स्वास्थ्यमा ध्यान दिँदैनन् । तसर्थ आमाहरुलाई स्तनपानको महत्व र फाइदाका विषयमा बुझाउन सके स्वास्थ्य संस्था, सरकार, रोजगारदाता, सञ्चारमाध्यम र परिवारको महत्वपूर्ण भूमिका हुन्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन सके मात्र स्वस्थ भविष्यको आधार स्तनपान सप्ताह बन्न सक्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुग्छ ।

