पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषसहित ३४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, दाङ, बाँके, सुनसरी, सल्यान, बारा, चितवन, भक्तपुर, मोरङ, सर्लाही, कञ्चनपुर,सुर्खेत, बर्दिया, जुम्ला लगायतका ठाउँहरुबाट प्रहरीले अवैध लागूऔषसहित ३४ जनालाई पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अंचलपुरबाट अवैध लागूऔषसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध डाईजेपाम १ सय ४५ एम्पुल, प्रोमेथाजाइन १ सय ४५ एम्पुल, बुप्रेनोर्फिन १ सय ४५ एम्पुल र सिरिन्ज ३ थान सहित दाङ घोराही उपमहानगरपालिका–१३ का २२ वर्षीय प्रवेश घर्ती मगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले रा.७ प ७००७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै दाङको घोराही उपमहानगरपालिका–१४ श्रीगणेश टोल डेरा गरी बस्ने कादिर खानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी दाङकै घोराही उपमहानगरपालिका–१७ पनौरा बस्ने योगेश पाण्डे समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीबाट खटिएको प्रहरीले योगेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ बाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरो हेरोइन ४ सय ग्राम सहित सोही उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीया निशा मगर र रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएकी ३३ वर्षीया ललिता बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१४ बस्ने २३ वर्षीय लाल बहादर परियार र २२ वर्षीय सुरज सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिया बजारबाट नेपालगंजतर्फ आउँदै गरेको भे.११ प ३४३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१४ चौलिका चोक बस्ने सोही उपमहानगरपालिका–१६ घर भएका ३२ वर्षीय रज्जन सैयादलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै जुम्लाको चन्दननाथ नगरपालिका–६ छिना बस्ने २३ वर्षीय रबिन्द्र रोकाया समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ भगवती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४१ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय पुष्कर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । यस्तै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलोग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मणिपुर घर भएका २० वर्षीया मोनादेवी लो·जाम र २३ वर्षीया ओइनाम अली रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूको सुटकेश तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौंकै टोखा नगरपालिका–९ शान्ति टोलस्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय २० मिलिग्राम सहित सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–६ घर भएका ३४ वर्षीय छिरिङ शेर्पा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–२० होम्सबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय सरोज आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरस्थित भगवती खोला बस्ने २३ वर्षीय सन्तोष बस्नेतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।


