पाल्पा, नेपालका प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाले आफ्नो राजनीतिक जीवनभर लोकतन्त्र, राष्ट्रिय एकता, मानव अधिकार र समाजवादको पक्षमा आवाज उठाए । उनका विचारले आज पनि नेपाली समाजलाई प्रेरित गरिरहेका छन् । वास्तवमा रुख हरियालीको प्रतिक मात्र होइन, यो जीवन, आशा र भविष्यको आधार पनि हो ।

जब कुनै महान व्यक्तित्वको सम्झनालाई वृक्षरोपणसँग जोडिन्छ, त्यसले केवल सम्मान मात्र व्यक्त गर्दैन, भावी पुस्ताप्रतिको जिम्मेवारी पनि स्मरण गराउँछ । यही जिम्मेवारी र बीपीको प्रेरणालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ नेपाली काँग्रेस पाल्पाले ४४ औं बीपी स्मृति दिवसका अवसरमा जिल्लाको ऐतिहासिक तथा धार्मिकस्थल तानसेन नगरपालिका –८ कोकलादेवी मन्दिर परिसरमा वृक्षरोपण गरेको छ । उसले वडा समितिको संयोजनमा त्यहाँ विभिन्न प्रजातिका सयौं विरुवा रोपेको हो ।
बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, सामाजिक न्याय तथा वातावरण संरक्षणप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्ने उद्देश्यले वृक्षारोण रोपण गरिएको काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । उनले वृक्षरोपणलाई केवल औपचारिक कार्यक्रम नभई वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियानका रूपमा व्याख्या गर्नुपर्ने बताए ।

सभापति श्रेष्ठले जलवायु परिवर्तन, वन विनाश र बढ्दो प्रदूषणका कारण वातावरणीय संकट गहिरिँदै गएको अवस्थामा प्रत्येक नागरिकले कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्ने संस्कार विकास गर्नुको साथै बीपीले देखाएको समृद्ध, लोकतान्त्रिक र जिम्मेवार समाजको परिकल्पना वातावरण संरक्षणबिनाको विकासबाट सम्भव छैन भन्ने सन्देश दिनको लागि पनि आफुहरुले ऐतिहासिक पर्यटकीय तथा धार्मिकस्थलमा आएर वृक्षारोपण गरिएको बताए ।

उनले रोपिएका बिरुवाको नियमित संरक्षण गर्ने प्रतिबद्धता पनि जनाए । वृक्षरोपणमा पुगेका पार्टीका निवर्तमान जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै बीपी कोइरालाले स्थापित गरेका प्रजातान्त्रिक आदर्श, राष्ट्रिय एकता र मानव अधिकारप्रतिको योगदानको स्मरण गर्दै कोइरालाको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले वातावरण संरक्षणका लागि वृक्षरोपण मात्र नभई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा पनि सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले वृक्षरोपण अभियानले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न सकारात्मक योगदान पुग्ने विश्वास समेत व्यक्त गरे । उनले बीपीको क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका कारण अहिले पनि जुनसुकै दल र विचारधाराका व्यक्तिहरु प्रभावित हुने गरेको भन्दै काँग्रेसबाट कोही पनि विचलित हुनुपर्ने अवस्था नरहेको बताए । नेता रानाले सिद्धान्त र विचार नभएका खहरे खोला जस्ता पार्टीहरु अहिले उदाय पनि काँग्रेस भने जिवन्त पार्टी भएकाले निर्धक्कका साथ पार्टीमा सक्रिय भएर लाग्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे । बीपी स्मृति दिवसका अवसरमा बुधबार काँग्रेस सहित भातृ तथा शुभेच्छुक संस्थाहरुले जिल्लामा विभिन्न कार्यक्रम गरेको पार्टी सचिव सन्तोष थापा मगरले जानकारी दिए ।

उनका अनुसार नेपाल नेपाल टे«ड कांग्रेस पाल्पाले संस्थापक सभापति गंगा भट्टराई र नागरिक ट्राफिक प्रहरी (कलकते दाइ) लाई सम्मान गरेको छ । वृक्षारोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थी , पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, कार्यक्रमका संयोजक तथा वडा सभापति मोहन कार्कीको स्वागत, सह–संयोजक पदम रानाको धन्यवाद ज्ञापन र पार्टी सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


