Shittalpati
अवैध लागूऔषध सहित १९ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, पर्सा, महोत्तरी, कैलाली, धनकुटा, मकवानपुर, बारा, काठमाडौं लगायतका स्थानबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका हुन् । 
    
रूपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडाबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।  खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सैनामैना नगरपालिका–१० सालझण्डी बस्ने ३१ वर्षीय सन्दिप पुनलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरबाट अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् । गाँजा २० किलो ६ सय ८७ ग्राम सहित भारत बिहार सितागढी पंचायत तालका डुम्रा–३३ बस्ने ३४ वर्षीय रहमद अंसारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बिआर ०६ बिएच ५४९६ नम्बरको कार जाँच गर्दा उक्त गाँजा फेला पारी चालक अंसारीलाई पक्राउ गरेको हो ।  यस्तै महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ९ सय ९० मिलिग्राम सहित भारत बिहार मधुबनी पंचायत मधवापुर–५ बस्ने २४ वर्षीय राजा कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००७ ख ८२१ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ  गरिएको जनाएको छ । यस्तै काठमाडौं महानगरपालिका–३१ प्रयाग मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने झापा दमक घर भएका सोहम बस्नेत समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको  छ । काठमाडौंकै चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय ५७ ट्याब्लेट सहित धनुषा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने २५ वर्षीय सुबास मानन्धरसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महोत्तरी सम्सीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३८८६ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस्तै बाराको कलैया उपमहानगरपालिका–१९ पचायनपुर बस्ने २० वर्षीय सनोज पटेललाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ सय ५० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गंगापुरबाट खटिएको प्रहरीले सनोजले सोही ठाउँमा सञ्चालन गरेको घुम्ती पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
    
यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय आइतमान थिङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–३ जम्बुचौतारा बस्ने २२ वर्षीय रबि स्याङ्तान र राक्सिराङ गाउँपालिका–१ बस्ने २४ वर्षीय सुजन स्याङ्तान रहेका छन् । यस्तै धनकुटाको शहिदभूमी गाउँपालिका–१ पाङ्नामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित भोजपुर हतुवागढी गाउँपालिका–९ उखुबारी बस्ने २३ वर्षीय हिलसन राईलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस्तै कैलालीको टीकापुर नगरपालिका–८ सत्ति पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका–१ बस्ने २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत रहेका छन् । यसैगरी कैलालीकै गौरीगंगा नगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण साउँद र २३ वर्षीय खेम साउँद रहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update