Shittalpati
पाल्पासहित अधिकास तटीय क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन आग्रह

पाल्पा, पाल्पासहित देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार  पाल्पा, अर्घाखाँची, रुपन्देही, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ ।  यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री र निर्माण कार्यमा संलग्नलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ ।

महाशाखाका अनुसार निरन्तरको वर्षासँगै पहाडी र हिमाली क्षेत्रमा बहाव बढ्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा डुबान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ । खोलाहरूमा बहाब बढेर तटीय क्षेत्र तथा आसपासका बस्तीहरू प्रभावित हुन सक्ने भन्दै विभागले स्थानीय बासिन्दा र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी गतिविधि बढ्न गई देशका हिमाली-पहाडी भू–भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update