सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति भनिन्छ । प्राय सबैले यसलाई साउने संक्रान्ति पनि भन्दछन् । आजकै दिनबाट नै वर्षा ऋतुको आरम्भ हुन्छ । साउन सङक्रान्तिले धान रोप्ने समयको समाप्तिलाई जनाउछ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको धार्मिक महत्व रहेको बताइन्छ । यो नेपाली समाजको सांस्कृतिक तथा धार्मिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो । असार महिनाको अन्त्य र साउन महिनाको प्रारम्भसँगै मनाइने यस पर्वले मौसम परिवर्तन, कृषि जीवन, प्रकृतिप्रतिको सम्मान र स्वस्थ जीवनशैलीको सन्देश दिन्छ । विशेषगरी साउन महिनालाई भगवान शिवको आराधनाको महिना मानिने भएकाले यस अवसरमा व्रत, पूजा तथा धार्मिक गतिविधिहरू पनि बढ्ने गर्छन् ।
साउने संक्रान्तिको महत्वपूर्ण पक्ष प्रकृति र स्वास्थ्यसँग सम्बन्धित छ । यस दिन बिहान उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । लौकिक चलनअनुसार यसदिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ । आजका दिन कन्डारक नाम गरेको रात्रिचर राति हिँड्नेको पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । साउने संक्रान्तिदेखि चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ । साउन लागे लगत्तै हिन्दू महिलाहरुमा छुट्टै उत्साह र उमंग छाउने गर्दछ । रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । साउने संक्रान्तिले हामीलाई प्रकृतिसँग सहअस्तित्व, स्वस्थ खानपान, सांस्कृतिक पहिचानको संरक्षण र सामाजिक सद्भावको महत्व सम्झाउँछ । त्यसैले यस पर्वलाई केवल धार्मिक अनुष्ठानका रूपमा नभई हाम्रो सांस्कृतिक सम्पदा, स्वास्थ्य चेतना र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने सन्देशका रुपमा लिन जरुरी छ ।

