Shittalpati
सरकारका सय दिन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको सय दिन पूरा भएको छ । यो समयलाई ‘हनिमुन पिरियड’ अर्थात् मधुमास पनि भनिन्छ ।  सरकारका लागि देशको अवस्था बुझ्न, सरकारी तौरतरीका थाहा पाउन मधुमासका रूपमा लिने प्रचलन छ ।

पुराना दलप्रतिको वितृष्णा, आक्रोश, सुशासनको चाहना र राज्य संयन्त्रमा आमूल परिवर्तनको अपेक्षासहित यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व जनसमर्थन  पाएको थियो । जनआन्दोलन, गणतन्त्र, संविधान र संघीयतापछि पनि नागरिकले अपेक्षित सुशासन, रोजगारी, सेवा प्रवाह र आर्थिक समृद्धि अनुभूति गर्न सकेका थिएनन् । त्यसैले पुराना दलहरूबाट आजित नागरिकले नयाँ पुस्ता, नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको नारासहित अघि आएको रास्वपालाई दुईतिहाइ नजिक जनादेश दिए । परम्परागत दलहरूको अकर्मण्यता, नीतिगत विचलन र कुशासनबाट वाक्क नागरिकले नयाँ शक्तिबाट शासकीय प्रणालीमा जादुमयी रूपान्तरणको अपेक्षा  समेत गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पनि पदभार ग्रहण गरेकै दिन सय बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक गर्दै ‘देश बनाउने’ महत्वाकांक्षी अभियान सहित शासकीय सुधारको १०० बुँदे कार्यसूची घोषणा गरेको थियो । शनिबार सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमार्फत सरकारले हासिल गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरे । सरकार गठन भएपछि सबै मन्त्रालयद्वारा बनाइएको कामको सूचीमध्ये करिब ८७.२ प्रतिशत काम सम्पन्न गरेको दाबी उनको छ । तर्क चातुर्य र आफूअनुकूलका तथ्यांकबाट हरेकजसो सरकारले सफलताको र विपक्षीले असफलताको दाबी गर्ने प्रवृत्ति पुरानै हो । अहिलेको सरकारले गरेको दाबी पनि त्यसकै सिलसिला हो । यद्यपि, सरकारको सफलता र असफलता छुट्याउने कुनै स्पष्ट विभाजन रेखा हुँदैन । यस सन्दर्भलाई सरकार गठन हुँदै गर्दा सार्वजनिक रूपमा गरिएका वाचा र आमजनतामा विकास भएको अपेक्षा कति पूरा हुन सक्यो भन्ने कोणबाट चर्चा गरिन आवश्यक छ । यो सरकारका सय दिनभित्र त्यति धेरै सन्तोष गर्न सकिने गरी काम भएका छैनन् तर त्यसो भन्दैमा सरकारले केही गर्दै गरेन भन्ने होइन । केही गर्ने प्रयासहरु भएका छन् । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । सय दिन लामो समय होइन । तर सरकारको प्रवृत्ति, प्राथमिकता र कार्यशैलीको भेउ बुझ्न यथेष्ट समय हो । यतिबेला प्राप्त प्रतिक्रियालाई शिक्षाका रूपमा लिएर कार्यशैलीलाई प्रभावकारी बनाउने हो भने सरकारले सकारात्मक नतिजा दिँदै जानेछ । तसर्थ सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update