पाल्पा,आज असार पन्ध्र्र राष्ट्रिय धान दिवस देशभर खेतमा रोपाइँ गरी दही–चिउरा खाएर मनाइँदैछ । ‘असारको पन्ध्र दहीचिउरा खानू, साउनको पन्ध्र खीर’ भन्ने लोकोक्ति प्रख्यात छ । आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाइन्छ । आज रोपाइँ गरी दही–चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरु पनि अरुको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्छन् ।
असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष दिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ । बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध्र छ’ भन्ने गरिन्छ । मानो छरेर मुरी उब्जाउने महिनाका रुपमा पनि असार पन्ध्रलाई लिने गरिन्छ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ । विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालमा विक्रम संवत् २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको विज्ञहरुको भनाई छ । पछिल्लो समय पाल्पासहित देशभरका स्थानमा असार पन्ध्र धुमधामका साथ मनाउने गरिन्छ । कृषिसँग सरोकार राख्ने निकायहरुले असार पन्ध्रको अवसर पारेर आज धान रोपाई र दही चिउरा खाने कार्यक्रमको आयोजना गरेका छन् । कृषि ज्ञान केन्द्र पाल्पाले दिवसको अवसरमा आज तानसेन नगरपालिका –१४ अर्गेलीफाँटमा रोपाइँ गरी धान दिवस मनाउन लागेको कार्यालय प्रमुख अमिता पाण्डेले बताइन् । उनका अनुसार जिल्लामा आइतबारसम्म करिब १५ प्रतिशत जति धान रोपाइँ भइसकेको छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । जिल्लाका सबैजसो स्थानमा रोपाइँ भइरहेको छ । बाँझो रहेका, पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा रोपाइँ भइरहेको कृषिज्ञान केन्द्र पाल्पाले जनाएको छ । जिल्लामा असारको पहिलो हप्ताबाट नै धान रोपाइँ भएको हो । यतिबेला जिल्लाका अधिकाश ठूला ठूला फाँटहरुमा किसानहरु रोपाइँमा व्यस्त भएका छन् । ‘मानो छरेर मुरी उब्जाउने’ समय भएकाले पनि जिल्लाका किसानहरुलाई भ्याई नभ्याई भएको हो ।
यहाँका अधिकांस स्थानका किसानहरुले आधुनिक कृषियन्त्रहरुको प्रयोग गरेका छन् । यहाँका ठूला फाँटहरु रामपुर, झडेवा, माँडी, कचल, अर्गली, हुंगी, सर्देवा, छेर्लु· चहला फाँटहरुमा प्रशस्त मात्रामा धान खेती हुने गरेको छ । जिल्लाको ८ हजार ६ सय २० हेक्टरमा धान खेति हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कुनै बेला असार लागेसँगै असारे गीतहरु गुञ्जायमान हुने पाल्पा र गुल्मीका फाँटहरुमा पछिल्लो समय धान रोपाइँमा देखिने मौलिक गीत गाउने संस्कृति भने हराउँदै गएको छ । परम्परागत कृषि प्रणाली हराउदै जाँदा रोपाइँको रौनक नै हराउदै गएको हो । केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसंगै हलो, जुवा, हलगोरु, बाउसे र रोपाहारहरु खेतमा हुँदा रोपाइँको चहलपहल रहे पनि अहिले यो विस्तारै हराउँदै गएको हो । बढ्दो आधुनिकीकरण र युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल,गोरु र बाउसेको अभाव देखिएको किसानहरु बताउँछन् । छङ्छङ् बगेको वर्षे भेल, खोल्साखाल्सी सुसाएर निस्केको आवाज, छहरा पहराको हरियालीले रोपाँइको समय सम्झाउँछ ।


