Shittalpati
बर्डफ्लुको जोखिम : सतर्कता अपनाऔँ

केही दिन यता नेपालमा बर्डफ्लुको संक्रमण बढ्दो रहेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ । विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो । बर्डफ्लु मुख्यतः पन्छीमा देखिने भाइरल रोग भए पनि केही विशेष अवस्थाहरूमा संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा रहेका मानिसमा समेत संक्रमण सर्नसक्ने सम्भावना रहन्छ । यद्यपि, नेपालमा हालसम्म मानिसमा संक्रमण पुष्टि भएका घटना अत्यन्तै न्यून छन् ।

यो रोगले पोल्ट्री व्यवसाय, खाद्य सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । त्यसैले बर्डफ्लुको बढ्दो जोखिमलाई सामान्य रूपमा लिनु हुँदैन । बर्डफ्लुले पोल्ट्री उद्योगमा ठूलो आर्थिक क्षति पुर्‍याउँछ । संक्रमण फैलिएको स्थानमा हजारौँ कुखुरा नष्ट गर्नुपर्ने अवस्था आउँछ, जसले किसानको लगानी डुब्नुका साथै बजारमा मासु र अण्डाको आपूर्तिमा समेत असर पार्छ । यसको प्रत्यक्ष प्रभाव उपभोक्ता र समग्र अर्थतन्त्रमा पर्न जान्छ । त्यसैले बर्डफ्लुबाट जोगिन सर्तकता अपनाउ आवश्यक छ । संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, असुरक्षित ढङ्गले मासु वा अण्डा प्रशोधन गर्नु तथा सरसफाइमा लापरवाही गर्नु जोखिमका कारण हुन् । त्यसैले समयमै सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो । बर्डफ्लुको पछिल्लो प्रकोपले कुखुरा उद्योगलाई पुनः ठूलो दबाबमा पारेको छ । संक्रमण फैलिएका जिल्लामा उत्पादन घट्नुका साथै बजारमा आपूर्ति शृंखला प्रभावित हुन पुगेको छ । यस्तो अवस्थामासरकारले सीमावर्ती क्षेत्रमा निगरानी बढाउने, नियमित परीक्षण गर्ने, संक्रमण देखिएमा तत्काल नियन्त्रणका उपाय लागू गर्ने तथा किसानलाई आवश्यक सहयोग उपलब्ध गराउने दायित्व पूरा गर्नुपर्छ । साथै, पशु स्वास्थ्य सेवा, स्थानीय तह र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक छ । नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । बिरामी वा मरेका कुखुरा तथा जंगली चरासँग अनावश्यक सम्पर्क नगर्ने, मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाने, पोल्ट्री फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड पालना गर्ने तथा शंकास्पद अवस्था देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने बानी बसाल्नुपर्छ ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update