पाल्पा, आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व योग दिवस मनाइँदै छ । प्रत्येक वर्ष जुन २१ तारिखका दिन मनाइने यो दिवस यस वर्ष पनि योगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ मनाउन लागिएको हो ।
संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको पाइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो । यही क्षेत्रबाट पुनःजागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
योगले शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको अभ्यासलाई प्रोत्साहन गर्न दिवस मनाइँदै आएको छ । नेपालमा पनि सरकारी निकाय, शैक्षिक संस्था, योग केन्द्र तथा विभिन्न सामाजिक संघसंस्थाले योग अभ्यास, सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया आयोजना गरेका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार नियमित योग अभ्यासले तनाव व्यवस्थापन, शारीरिक लचकता वृद्धि, मानसिक एकाग्रता तथा समग्र स्वास्थ्य सुधारमा सहयोग पु¥याउँछ । उनीहरूले स्वस्थ जीवनशैली अपनाउन योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन आग्रह गरेका छन् ।
