पाल्पा,जिल्लाको तानसेनमा रहेको नारायण युवा क्लवले तीन दिने नेतृत्व तथा क्षमता विकास तालिम तानसेनमा सञ्चालन गरेको छ । क्लवले शनिबार एक औपचारिक कार्यक्रम गरी तालिमको शुभारम्भ गरेको छ । तानसेन –२ वडा कार्यालयको सहयोगमा क्लवले वडा भित्रका महिला पुरुषहरुका लागि तालिम सञ्चालन गरेको हो । तालिमको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शुभारम्भ गरेका हुन् । तालिमको शुभारम्भ गर्दै उनले क्लबले समाजमा निरन्तर रचनात्मक तथा सकारात्मक गतिविधि सञ्चालन गर्दै आएको भन्दै प्रशंसा गरे । उनले क्लबले समाज र राजनीतिक क्षेत्रमा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे । खनालले क्लबका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ तथा क्लबका पूर्व अध्यक्ष एवं तानसेन–२ का वडा अध्यक्ष महेश्वर श्रेष्ठजस्ता व्यक्तित्वहरू क्लबकै उत्पादन भएको उल्लेख गर्दै युवाहरूको नेतृत्व विकासमा क्लबको भूमिका उल्लेखनीय रहेको बताए ।
तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै उनले सहभागीहरूलाई प्रशिक्षार्थीका रूपमा आए पनि तालिमपछि प्रशिक्षक बन्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिए । कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले असल नेतृत्व निर्माणका लागि नेतृत्व क्षमता र व्यक्तित्व विकास अपरिहार्य रहेको बताए । वर्तमान अवस्थामा समाज र राष्ट्रलाई सही दिशामा अघि बढाउन सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता तालिमले नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । तानसेन–२ का वडा अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष महेश्वर श्रेष्ठले आगामी दिनमा पनि यस्ता रचनात्मक र जनमुखी कार्यक्रमहरूमा वडा कार्यालयको निरन्तर सहयोग रहने बताए । कार्यक्रममा तानसेन नगरपालिकाकी कार्यपालिका सदस्य सविता भट्टराई, नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कौसल घिमिरे, क्लवका पूर्व अध्यक्ष प्रविन राज शाक्य लगायतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए । तालिममा मुख्य प्रशिक्षक दिनेश खड्का, प्रशिक्षक विनोद भारतीले तीन दिनसम्म प्रशिक्षण दिने छन् । कार्यक्रम क्वका अध्यक्ष विनायक महर्जनको अध्यक्षता, सह सचिव विनोद भारतीको सञ्चालनमा भएको थियो । तालिममा ३० जना सहभागी रहेका छन् ।


