Shittalpati
आज विश्व शरणार्थी दिवस मनाइँदै

पाल्पा,आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । प्रत्येक वर्ष जुन २० मा मनाइने यो दिवस युद्ध, हिंसा, उत्पीडन, मानवअधिकार उल्लंघन तथा प्राकृतिक विपत्तिका कारण आफ्नो घरबार छाड्न बाध्य भएका शरणार्थीहरूको साहस, संघर्ष र योगदानको सम्मान गर्न समर्पित छ ।

सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष शरणार्थी सम्बन्ध राष्ट्र संघीय उच्च आयोगको अगुवाईमा दिवस मनाउने गरिएको छ । विश्वभरी विस्थापित बढेको र सामाजिक परिवर्तनमा नाटकीय ढंगले परिवर्तन आइरहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोग यूएनएचसीआरले जनाएको छ । यूएनएचसीआर सहितका संघसंस्थाले विस्थापित र राज्यबिहीन नागरिकको पक्षमा आवाज उठाउँदै आएका छन् । अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानुनसमेत बनाउन सकेको छैन । तर नेपालले तिब्बती र भुटानी शरणार्थीलाई बास दिएर व्यवस्थापनमा सहयोग गरेको छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् । यस वर्ष विभिन्न देश, अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारसम्बन्धी संस्थाहरूले शरणार्थीहरूको संरक्षण, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । दिवसको अवसरमा आयोजित कार्यक्रमहरूमा शरणार्थीहरूको अवस्था सुधार गर्न अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धता अझ सुदृढ बनाउन आÞवान गरिएको छ । (यूएनएचसीआर) का अनुसार विश्वभर करोडौं मानिसहरू जबरजस्ती विस्थापित जीवन बिताइरहेका छन् । उनीहरूलाई सुरक्षित आश्रय, आधारभूत सेवा तथा सम्मानजनक जीवनयापनको अवसर उपलब्ध गराउनु विश्व समुदायको साझा जिम्मेवारी भएको संस्थाले जनाएको छ । नेपालमा पनि शरणार्थीसम्बन्धी विभिन्न सरोकारवाला निकायहरूले दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै शरणार्थीहरूको अधिकार संरक्षण र मानवीय सहयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व शरणार्थी दिवसले आफ्नो घर र समुदायबाट टाढा कठिन परिस्थितिमा जीवन बिताइरहेका लाखौं शरणार्थीप्रति सहानुभूति, सम्मान र ऐक्यबद्धताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update