Shittalpati
शरणार्थी दिवसको सार्थकता

आज नेपालसहित विश्वभर विश्व शरणार्थी दिवस मनाइँदै छ । हरेक वर्ष जुन २० का दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको हो । सन् १९५१ मा पहिलोपटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै यो दिवस हरेक वर्ष मनाउँदै आइएको छ । आजको दिन आफ्नो घर, भूमि र पहिचान गुमाएर विस्थापित हुन बाध्य भएका लाखौँ मानिसप्रति ऐक्यबद्धता व्यक्त गर्ने अवसर हो । युद्ध, हिंसा, राजनीतिक अस्थिरता, जातीय तथा धार्मिक उत्पीडन, मानवअधिकार उल्लङ्घन र प्राकृतिक विपत्तिका कारण आफ्नो जन्मभूमि छोड्न बाध्य भएका मानिसहरूको पीडा सम्झिने र उनीहरूको अधिकार सुनिश्चित गर्न विश्व समुदायलाई जिम्मेवार बनाउने उद्देश्यले यो दिवस मनाइन्छ । आज विश्वमा शरणार्थीको संख्या निरन्तर बढिरहेको छ । विभिन्न द्वन्द्व, क्षेत्रीय तनाव र जलवायु परिवर्तनका कारण लाखौँ मानिस सुरक्षित आश्रयको खोजीमा छन् । शरणार्थी हुनु कुनै व्यक्तिको रहर होइन ¤ यो परिस्थितिले थोपरेको बाध्यता हो ।  

आफ्नो घर, परिवार, सम्पत्ति, संस्कृति र भविष्यका योजनाहरू छोडेर अपरिचित भूमिमा जीवनयापन गर्नुपर्ने अवस्था आफैंमा ठूलो मानवीय त्रासदी हो । विश्व शरणार्थी दिवसले शरणार्थीलाई केवल सहायता प्राप्त गर्ने पात्रका रूपमा होइन, अधिकार सम्पन्न मानवका रूपमा हेर्न आग्रह गर्छ । उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र सम्मानजनक जीवनको अवसर प्रदान गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व हो । शरणार्थीको समस्या कुनै एकराष्ट्रको मात्र चुनौती होइन यो विश्वव्यापी मानवीय मुद्दा हो, जसको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य, सहिष्णुता र मानवीय संवेदनशीलता आवश्यक छ । नेपालले पनि विगतमा विभिन्न समुदायका शरणार्थीलाई आश्रय प्रदान गरेर मानवीय मूल्यको उदाहरण प्रस्तुत गरेको छ । नेपालमा अहिले झण्डै २० हजार शरणार्थी रहेको अनुमान छ । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्र संघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन । यो अत्यन्त दुखको कुरा हो । कुनै पनि देश चाहे धनी वा गरिब होस्, सो मुलुकले सार्वभौमसत्ता सम्पन्न, आधारभूत मानव अधिकारको प्रत्याभूति हासिल गर्ने ध्येय लिएको हुन्छ । तर नेपालमा शरणार्थी व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको छ । जहाँसम्म शरणार्थीलाई उनीहरुकै देश फर्काउने कि यहीँ व्यवस्थापन गर्ने सवाल छ, त्यो दुई देशबीचको कूटनीतिक सम्बन्धले निर्धारण गर्ने कुरा हो । त्यसका लागि सरकारले अहिले सक्दो पहल गर्न जरुरी छ । यसो गर्न सकियो भने मात्र विश्व शरणार्थी दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update