पाल्पा,आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो ।
प्रत्येक वर्ष जून १९ तारिखमा संयुक्त राष्ट्र संघले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ । १९ जुन सन् २०१५ मा संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको हो । यस दिवसले युद्ध, सशस्त्र संघर्ष तथा द्वन्द्वका क्रममा यौन हिंसाबाट प्रभावित पीडितहरूको सम्मान, उनीहरूको अधिकारको संरक्षण तथा यस्ता घटनाको रोकथामका लागि विश्व समुदायलाई सचेत गराउने लक्ष्य राख्दछ । संयुक्त राष्ट्रसंघले सन् २०१५ मा यो दिवस घोषणा गरेको हो । सन् २००८ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले द्वन्द्वमा यौन हिंसालाई शान्ति तथा सुरक्षासम्बन्धी गम्भीर चुनौतीका रूपमा स्वीकार गर्दै पारित गरेको प्रस्ताव १८२० को स्मरणमा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा पीडितमैत्री नीति निर्माणका विषयमा छलफल आयोजना गरेका छन् । मानवअधिकारकर्मीहरूले द्वन्द्वका समयमा भएका यौन हिंसाका घटनाको सत्य निरूपण, पीडितलाई न्याय र परिपूरण सुनिश्चित गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । नेपालमा पनि दशक लामो सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसामा परेका पीडितहरूको अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई न्याय दिलाउन सरोकारवाला निकायहरूले जोड दिएका छन् । उनीहरूले पीडितको पहिचान, सम्मान र पुनस्र्थापनालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । दिवसले द्वन्द्वका कारण हुने यौन हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको सन्देश दिँदै यसको अन्त्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा साझा प्रयास आवश्यक रहेको औँल्याएको छ ।


