Shittalpati
पाल्पामा एकै महिनामा ३१ मुद्दा दर्ता, १९ प्रतिवादी पक्राउ

पाल्पा, पाल्पामा एकै महिनामा ३१ वटा विभिन्न प्रकारका अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये भवितव्य ज्यान सम्बन्धी १०, आत्महत्या सम्बन्धी ९, लागुऔषध सम्बन्धी २, चोरी सम्बन्धी ३, अभद्र व्यवहार सम्बन्धी ३, ज्यान सम्बन्धी २ र फुटकर ज्यान सम्बन्धी २ वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । जसमध्ये १० वटा मुद्धा फस्यौट भएका छन् । यो जेठ महिनाको तथ्याङ्क हो ।

यस अवधिमा चालु मुद्दाका १९ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जसमा ६ महिला र १३ पुरुष रहेका छन् । लागुऔषध मुद्धाका ६, चोरी सम्बन्धी मुद्धाका ५, ठगी सम्बन्धीका १, बैंकिङ् कसुर सम्बन्धीका १, अभद्र व्यहार सम्बन्धीका ६ जना प्रतिवादी पक्राउ परेका हुन् ।  सार्वजनिक चासोका पेण्डिङ्ग मुद्धाका १३ वटा २ वर्षे मुद्दा फस्र्योट गरिएको छ ।  यस्तै अदालतको फैसला कार्यान्वयनको क्रममा विभिन्न मुद्दामा फरार रहेका ३ जनालाई पक्राउ गरी उनीहरूबाट एक महिना बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ भने ४३ लाख ८१ हजार ८ सय ३ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रणको क्रममा जेठ महिनामा ३ सय ६० ग्राम गाँजा बरामद गरिएको जानकारी गराइएको छ । यस्तै सवारी दुर्घटना ७ वटा हुँदा ११ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ४ सय ९७ सवारी साधनमाथि कारबाही गरी ५ लाख ३६ हजार राजस्व संकलन गरिएको छ ।

दुर्घटनाका प्रमुख कारणमा तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु तथा ट्राफिक अनुशासनको कमी रहेको विश्लेषण गरिएको छ । यस्तै हराएका १७ जना मध्ये १३ जना फेला परेका छन् । जस मध्ये महिला ४ जना, पुरुष ६ जना, बालक १, बालिका २ जना रहेका छन् । ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । एक महिनाको अवधिमा ४ वटा घरेलु हिंसाको मुद्धा दर्ता भएका छन् । जसमा २ वटाको मिलापत्र गरिएको छ भने १ वटा अदालत पठाइएको छ । लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण, महिला हिंसा, बालविवाह, आइबर अपराध, ट्राफिक चेतना लगायतसम्बन्धी समुदाय–विद्यालय कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ । जेठ महिनामा ६८ वटा समुदाय–विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको छ । जसबाट २ हजार ४ सय ९७ जना लाभन्वित भएका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update