पाल्पा, आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । विदेशमा काम गरिरहेका लाखौँ श्रमिकहरूले आफ्नो परिवारको जीवनस्तर सुधार, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा स्थानीय आर्थिक विकासमा पुर्याएको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष जुन १६ मा यो दिवस मनाउने गरिएको हो ।
आजको दिन विश्वभर रहेका आप्रवासी श्रमिकहरूले आफ्ना परिवारलाई पठाउने रकम (रेमिटेन्स) को महत्वलाई उजागर गरिन्छ । नेपालजस्ता रेमिटेन्समा निर्भर मुलुकका लागि यो दिवस विशेष महत्वको मानिन्छ । विदेशमा रहेका नेपाली श्रमिकहरूले पठाउने रेमिटेन्स राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारमध्ये एक हो । रेमिटेन्सबाट प्राप्त आम्दानीले लाखौँ परिवारको दैनिक जीवन सञ्चालन, बालबालिकाको शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ । विज्ञहरूका अनुसार रेमिटेन्सले गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणमा सकारात्मक प्रभाव पारे पनि यसको दीर्घकालीन उत्पादनशील क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको छ । उनीहरूले रेमिटेन्सलाई उपभोगमा मात्र सीमित नगरी उद्यम, कृषि तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा उपयोग गर्नुपर्ने सुझाव दिएका छन् । संयुक्त राष्ट्रसंघको समर्थनमा मनाइने यस दिवसका अवसरमा विभिन्न देशमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा श्रमिकको योगदानको सम्मानमा विशेष गतिविधि आयोजना गरिएका छन् । सरकार, वित्तीय संस्था तथा सरोकारवाला निकायहरूले सुरक्षित, सहज र कम लागतमा रेमिटेन्स सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आप्रवासी श्रमिकहरूको हकहित संरक्षणमा जोड दिएका छन् ।


