पाल्पा, प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास सोमबारदेखि सकिएको छ । जेठ ३ गतेदेखि सुरु भएको अधिकमास समाप्त भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको सौर वर्ष हुन्छ । तीन सय ५४ दिनको चान्द्र वर्ष हुन्छ । सौर वर्ष र चान्द्र वर्षमा प्रत्येक साल ११ दिन समय बढी हुन आउँछ । सौर र चान्द्र वर्षलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।
एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ । महिनामा दुई वटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ । यस वर्ष जेठ महिनाको २ गते शनिबार र ३१ गते आइतबारका दिन औंशी तिथि परेको थियो । ज्योतिषशास्त्रीय दृष्टिकोणले अधिमास, अधिकमास तथा पौराणिक दृष्टिले पुरुषोत्तम मास, पुरुषोत्तम महिना भनिने यो महिना हरेक ३३ महिनामा पर्दछ । जुन चान्द्रमासमा सूर्यसङ्क्रान्ति हुँदैन, त्यो महिनालाई अधिमास भनिन्छ । अर्को अर्थमा भन्दा यदि चान्द्रमासको दुवै पक्षमा सूर्य सङ्क्रान्ति हुँदैन अर्थात् सूर्य कुुनै पनि राशिमा प्रवेश गर्दैन भने त्यो सङ्क्रान्तिहीन महिना गणना गर्दा फाल्टु हुन्छ र यही फाल्टु महिनालाई चलनचल्तीको भाषामा अधिकमास, अधिमास, मलमास, पुरुषोत्तम मास या पुरुषोत्तम महिना भनिन्छ । मलमासको समयमा एक वर्ष पूरा नभएका अर्थात नवविवाहित पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण अर्थात थोरै हुन्छ भनिएको छ । यसको अर्थ पुराना दमपतीलाई चाहिँ छुट छ भनिएको होइन, पूराना दम्पतीमा पनि यो नियम केही हदसम्म लागू हुन्छ । यो अवस्थामा यौनसम्पर्क भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ भनिएको छ । यस्तै नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ । विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा पतिगृहमा अर्थात श्रीमानसँग बस्दा बुहारीले सासू पिर्ने,पहिलो क्षयमासमा बस्दा आफ्नै शरीरमा पीडा हुने, पहिलो जेठमा बस्दा जेठाजु पिर्ने,पहिलो पुसमा बस्दा ससुरालाई पिर्ने, पहिलो अधिकमासमा बस्दा पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्दा आफ्नै पिता अर्थात बुबालाई पिर्ने ज्यो. पन्तको भनाई छ ।

