Shittalpati
आज विश्व रक्तदाता दिवस मनाइँदै

पाल्पा, आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।

दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको छ । रगत शरिरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वहरुसँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्‍याउने काम गर्दछ । यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निष्कासन गर्न समेत सहयोग गर्दछ । दिवसका अवसरमा देशभरका विभिन्न संघसंस्था र अस्पतालले रक्तदान सम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गर्दै छन् । मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने उनीहरुको ठहर छ । रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ । यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रूपमा नामकरण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update