Shittalpati
पाल्पामा घरमै पुग्न थाल्यो राहदानी सेवा

तानसेन (पाल्पा), पाल्पामा पहिलोपटक घरदैलोमै पुगेर राहदानी वितरण सुरु गरिएको छ । यससँगै नागरिकले राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्न थालेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालयमार्फत घर–घरमा पुर्‍याउन थालेको हो ।

सरकारको नीतिअनुसार राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । जिल्ला प्रशासन कार्यालय  र जिल्ला हुलाक कार्यालयबिच गत वैशाख ८ मा भएको सम्झौतापछि पहिलो चरणमा तीन वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ । तीन वटा राहदानी मध्ये एउटा नवलपरासी पूर्वमा दर्ता भएको रहेको छ । बुधबार जिल्ला हुलाक कार्यालयका सुचना अधिकारी टंक भण्डारी र खरिदार रमेश ढकालसहित गएको जिल्ला हुलाक कार्यालयको टोलीले रम्भा गाउँपालिका–५ का सुमित बाह्रघरे, माथागढी गाउँपालिका –६ का लेखबहादुर गाहा र तानसेन नगरपालिका –१ की दीक्षा खातीको घरमा पुगेर राहदानी हस्तान्तरण गरेको हो । बाह्रघरे र गाहाले पाल्पामै दर्ता गरेको र खातीले नवलपरासी पूर्वमा दर्ता गरेको राहदानी उनीहरुकै घरमा पुगेर दिइएको सुचना अधिकारी भण्डारीले जानकारी दिए । सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुसार यो अभियान सुरु गरिएको उनको भनाई छ । उनले भने “जिल्ला प्रशासन कार्यालयबाट घरदैलोमा नै राहदानी बुझ्ने दर्ता फाराम भरेका सेवाग्राहीहरुको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित सेवाग्राहीलाई डेलिभरी कार्यको सुरुवात गरेका छौं ।” यस सेवाबाट जिल्ला सदरमुकामबाट टाढा रहेका सेवाग्राहीहरुले राहदानी लिनका लागि मात्र सदरमुकामसम्म आउनुपर्ने झन्झटबाट मुक्ति मिलेको र समय तथा स्रोतको बचत पनि भएको सुचना अधिकारी भण्डारीको भनाइ छ । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा राहदानी समेत छिटो आउने गरेको छ । जेठ १५ गते दर्ता गरेका राहदानी १५ दिनमै आएको भण्डारीले बताए ।

घरमै  राहदानी आएपछि सेवाग्राही उत्साहित भएका छन् । हुलाकबाट घरमै आएर राहदानी दिएपछि आफुलाई अत्यनन्त खुसी लागेको  माथागढी गाउँपालिका –६ का लेखबहादुर गाहाले बताए । उनले भने “ यस्तो दिनपनि आउला भनेर कल्पन समेत गरेको थिएन, हरेक कागजातका लागि तानसेन नै जानुपथ्र्यो, यसले हामीहरुको समयमात्र होइन खर्च समेत बचत भएको छ ।” घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सेवाग्राहीका लागि यो कार्य उपयोगी हुने सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा राहदानी पठाएपछि सेवाग्राहीको ठेगानाअनुसार नजिकको हुलाक कार्यालयमा पठाइन्छ । त्यसपछि हुलाक कर्मचारीमार्फत घरमै राहदानी पुर्‍याइने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीहरु अन्तर्गत बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गोभरमेन्ट कुरियर सर्भिस’का रुपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स सरकारी कागजातहरु घरमै पुर्‍याउने व्यवस्थाअनुसार पाल्पामा पनि सेवा सुरु गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update