Shittalpati
शनिबार तानसेन खानेपानीको साधारण सभा हुँदै

पाल्पा,तानसेन खानेपानी उपभोक्ता समितिले शनिबार ११ औं साधारण सभा गर्ने भएको छ । समितिले विहीबार पत्रकार सम्मेलन गरी साधारण सभाको तयारीका विषयमा जानकारी गराएको छ । समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । साधारण सभा सर्वेसर्वाह भएकाले तानसेनको खानेपानीको समस्यालाई समाधानको नयाँ मार्ग चित्र तयार गर्ने, मूल्य समायोजन गर्ने उनले बताए । अध्यक्ष श्रेष्ठले आफुहरुले काकाकुल तानसेनलाई खानेपानी अभावबाट मुक्त गरेको दावी गरे । उनले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गर्ने क्रममा तानसेनका धेरै स्थानमा कालीगण्डकी नदिबाट पम्प जडान गरि प्रशोधित खानेपानी वितरण गरिएको बताए ।

अध्यक्ष श्रेष्ठले विद्युतको समस्याका कारण बेला–बेलामा समस्या आउने गरेको उल्लेख गरे । उनले सिमित स्रोत साधनाका बावजुद पनि आफुहरुले विगतको खानेपानी समस्यालाई धेरै हदसम्म समाधान गर्न सफल भएको बताए । अध्यक्ष श्रेष्ठले केही जिर्ण रहेका पम्पहरु मर्मत गरिएको र केही नयाँ पम्म जडान गरि खानेपानी समस्या समाधानमा निरन्तर लागिएको उल्लेख गरे । उनले अब तानसेन बजार खानेपानीको अभाव नभएको नगरका रुपमा विकसित गर्दै जाने योजनालाई वृहत्तरुपमा लाग्नुको विकल्प नभएको समेत बताए । समितिका सचिव प्रेम मल्लले विभिन्न खालका प्राविधिक समस्या आउँदा केही असहज भए पनि सिंगो समिति दिनरात लागि रहेको बताए । उनले आगामी दिनमा पनि सक्रियतामा कमी नहुने गरि वर्तमान समिति संवेदनशील रहेको स्पष्ट पारे । तानसेनमा अहिले प्रतिदिन तीन हजार पाँच  सय  लिटर पानी  आवश्यक हुने भए पनि दुई हजार पाँच सय लिटर मात्र  खपत भईरहेको छ । साधारण सभाका लागि ४ हजार ७ सय १२ जना उपभोक्ता उपस्थित हुने  समितिले जनाएको छ । कार्यक्रममा पत्रकारहरुले समितिका गतिविधिहरुलाई थप पारदर्शी बनाएर लैजान आग्रह गरेका थिए ।  

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update