पाल्पा, गृह मन्त्रालयले पाल्पासहित बाह्र जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) र छ सहसचिवको सरुवा गरेको छ । एक वर्ष अवधि पुगेका सिडिओहरूको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।
पाल्पाको सिडियो विनु बज्राचार्यको सरुवा भएको छ । उनको रामेछापामा सरुवा भएको हो । पाल्पामा बज्राचार्यको ठाउँमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रजिअ भविश्वर पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
मन्त्रालय वा अन्तर्गत रहेका सहसचिवलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा नयाँ जिम्मेवारी (पदस्थापन) दिइएको हो भने अवधि पुगेका अन्य अधिकारीलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ । मन्त्रालयले सहसचिव निराजन घिमिरेलाई स्याङ्जा, कुमानसिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरेको छ । यस्तै स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सङ्खुवासभा, सुर्खेतका प्रजिअ जगदीश्वर उपाध्यायलाई नलपलपरासी (बर्दघाट सुस्तापूर्व), रामेछापका प्रजिअ श्यामकृष्ण थापालाई सप्तरी, कास्कीका प्रजिअ रुद्रादेवी शर्मालाई धनकुटाको प्रमुख जिल्ला अधिकारी र सङ्खुवासभाका प्रजिअ सिर्जना थपलियालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय काठमाडौँ सरुवा गरिएको छ ।
यस्तै ओलखढुङ्गाका प्रजिअ मेखबहादुर मङ्ग्रातीलाई उदयपुर, सप्तरीका प्रजिअ टुवराज पोखरेललाई ओखलढुङ्गा, धादिङका प्रजिअ विजयराज सुवेदीलाई सर्लाही, उदयपुरका प्रजिअ धर्मराज जोशीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारी र सर्लाहीका प्रअजि रामुराज कडरियालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालय वा अन्तर्गत सरुवा भइआएका सहसचिवलाई जिम्मेवारी दिन र रिक्त रहेका जिल्लामा पदपूर्ति गर्न तथा अवधि पूरा गरिसकेका प्रमुख जिल्ला अधिकारीलाई अन्यत्र व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सहसचिव बलराम निरौलालाई अध्यागमन कार्यालय गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवामा पदस्थापना गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसथापन प्राधिकरण र सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।


