तानसेन (पाल्पा), मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका मगर समुदायका महिलाहरु डालामा स्थानीय परिकारका बटुक, चकाउनी, बारा, सेलरोटी र अचार बिक्रीमा व्यस्त छन् ।
तानसेन नगरपालिका–६, बर्तुङमा आयोजना गरिएको सडक खाना महोत्सवमा उनीहरुले तयार पारेका पाकवानको स्वाद लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो देखिन्छ । पर्यटकहरु सांस्कृतिक कार्यक्रममा रमाउँदै स्थानीय परिकारको स्वाद लिइरहेका थिए । महोत्सवको आकर्षणमा रैथाने खाना बटुक, चुकाउनी, हाँसको छोइला, पकौडा, चटामरी, मासको बारा, सेलरोटी, यःमरी, मेवाको अचारलगायत छन् । पछिल्लो समय ‘फास्ट फुड’मा रमाउने युवाहरु पनि मौलिक खानाको स्वाद लिन व्यस्त देखिन्थे । बटुक, चुकाउनीलगायतका परिकार बनाउन व्यापारीलाई भ्याइ–नभ्याइ देखिन्थ्यो ।
महोत्सवमा विशेष गरी मगर र नेवारी समुदायलगायतका १५ भन्दा बढी परिकारका कक्ष राखिएको छ । दर्शकले स्थानीय खानाको स्वादसँगै विभिन्न जात जातिका भेषभुषा, नाचगान र स्थानीय राष्ट्रिय कलाकारको प्रस्तुति सहित मनोरञ्जन समेत लिए । तानसेनको भीमसेनटोलमा पनि सडक खाना महोत्सवमा आयोजना गरिएको थियो । भीमसेन टोल विकास संस्थाको आयोजनामा भएको महोत्सवमा दर्शक तथा पर्यटकको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, हस्तकलाका सामग्री तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले सहभागीलाई आकर्षित गराएको आयोजकले जनाएको छ ।
स्थानीय मौलिक खानाका परिकार यःमरी, हाँसको छोइला, बटुक, सेलरोटी, चुकाउनीलगायतका परिकारका साथै स्थानीय कलाकारद्वारा नेवारी समुदायको धिमे र लाखे नाँच तथा मगर समुदायको घाटु र लिलि घोडा नाच प्रदर्शन गरिएको थियो । स्थानीय खानाको संरक्षण, खानाको खानाको प्रवद्र्धन र पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिँदै भीमसेनटोलमा सञ्चालन हँुदै आएको खुला वाचनालयलाई व्यवस्थित गर्दै लैजानेमा जोड दिएको आयोजक भीमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गोंगलले बताए । टोलको सरसफाईलगायतका सामाजिक कामका लागि आवश्यक रकम जुटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।
पछिल्लो समय सडकमा महोत्सव आयोजना गरी परम्परादेखि घरमा खाने परिकार आगन्तुकलाई खुवाउन महिला समूह, विभिन्न जातजाति सम्बद्ध समूह, टोल विकास संस्था सक्रिय छन् । स्थानीय मगर, नेवार, ब्राह्मण, क्षेत्री, कुमाल समुदायमा प्रचलित खानाका परिकार महोत्सवमा राखिने गरिएको छ । सडक खाना महोत्सव हुँदा विभिन्न खानाका परिकार चाख्न पाइएको तानसेनका स्थानीय मोहन श्रेष्ठले बताउनुभयो । सडक महोत्सवले महिला तथा अन्य समूहको आम्दानीसमेत बढाएको उनको भनाइ छ । यसप्रकारका महोत्सवबाट स्थानीय खानाको प्रचारप्रसार हुनुका साथै आम्दानीमा टेवा पुगेको तानसेन–५, कैलाशनगरकी शान्ता ढकालको भनाइ छ । महोत्सवका लागि तानसेन नगरपालिकाले समेत सहयोग गर्दै नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । सडक खाना महोत्सवले पर्यटन तथा व्यवसाय क्षेत्रमा आएको मन्दी कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।


