Shittalpati
नेपाल पत्रकार महासंघ पाल्पाद्वारा सात बुँदे घोषणापत्र जारी, स्थानीय सञ्चार नीति कार्यान्वयनमा जोड

 पाल्पा,  नेपाल पत्रकार महासंघ पाल्पा शाखाको साधारण सभा सात बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । शनिबार तानसेनमा सम्पन्न साधारण सभाले स्थानीय सञ्चार नीति बनाई कार्यान्वयन गर्न जोड दिदै साधारण सभा सकिएको हो । 

सभाले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकालाई नेपाल पत्रकार महासंघ पाल्पा शाखाको समन्वयमा स्थानीय सञ्चार नीति बनाई कार्यान्वयन गर्न जोडदार माग गरेको छ । स्थानीय तहमा प्रभावकारी सूचना प्रवाह, नागरिकको सूचनामा पहुँच तथा सञ्चार क्षेत्रको व्यवस्थित विकासका लागि स्थानीय सञ्चार नीति निर्माण र कार्यान्वयन गर्नुपर्नेमा सभाको बन्द सत्रले जोड दिएको छ । स्थानीय सरकार, सञ्चारमाध्यम र नागरिकबीच समन्वय बढाउन स्पष्ट सञ्चार नीति आवश्यक रहेको सभाको ठहर छ । घोषणा पत्रमा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै स्थानीय तहले आफ्ना गतिविधि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने आवश्यकता उल्लेख गरेको छ । यस्तै सरकारले सबै तहका सरकारी विज्ञापन र सूचनाहरू केवल सरकारी सञ्चालित मिडियामा मात्र दिने र निजी तथा व्यावसायिक मिडियामा पूर्ण रोक लगाउन गरेको अदूरदर्शी निर्णयप्रति साधारणसभा घोर भत्सर्ना गरेको छ । विज्ञापन बजारको विकृति रोक्न ‘थर्ड पार्टी बिलिङ’ र कडा अनुगमन प्रणाली लागू गर्नुको साटो चालिएको यो प्रत्युत्पादक निर्णय तत्काल फिर्ता लिन र सरकारी विज्ञापनमा सबै सञ्चारमाध्यमको समान हक सुनिश्चित गर्न  सभाले सरकारसँग जोडदार माग गरेको छ ।

यस्तै स्थानीय सरकार र सरोकारवाला निकायका सूचनाहरू केवल सरकारी सञ्चालित मिडियामा मात्र सीमित गर्दा गाउँ–गाउँका आमनागरिक आफ्नो पायक पर्ने स्थानीय सञ्चार माध्यमबाट सूचना पाउने संवैधानिक अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना भएकाले स्थानीय तहका सूचना र विज्ञापनहरू स्थानीय सञ्चारमाध्यमले नै पाउने गरी ‘विज्ञापन ऐन र आचारसंहिता’ पूर्ण रूपमा कार्यान्वयन गर्न पाल्पाका सबै स्थानीय सरकारहरूसँग सभाले जोडदार माग गरेको छ । यस्तै सभाले मिडिया क्षेत्रमा आएको चरम वित्तीय संकटका कारण सञ्चारगृहहरू बन्द हुने अवस्थामा पुगेको , न्यून र अनियमित पारिश्रमिकका कारण दक्ष, अनुभवी र उदयमान पत्रकारहरू पेसा नै छाडेर पलायत हुने अवस्था आएकाले यसतर्फ सरोकारवाला निकायलाई साधारण सभा ध्यानाकर्षण गराउने घोषणा  पत्रमा उल्लेख छ । महासंघले सुरुवात गरेको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै आगामी दिनमा गरिने आन्दोलन थप सशक्त बनाउन केन्द्रीय समितिलाई माग गर्ने, जिल्लाका १० वटै स्थानीय तह, संघ तथा प्रदेश अन्तर्गत सञ्चालित सरकारी निकायलाई जिल्लाबाट सञ्चालित साना तथा स्वरोगारमुखी सञ्चारमाध्यम, पत्रकार तथा सञ्चारकर्मीलाई पेशामा टिकाई राख्नका लागि मिडिया सबलीकरण कार्यक्रम तर्जुमा गरी समानुपाति ढंगले कार्यान्वयन गर्न माग गर्ने , पाल्पाको समग्र विकास, पर्यटन र सञ्चार माध्यमको विकासका लागि राज्यका तर्फबाट विशेष राहत प्याकेज र प्रोत्साहन कार्यक्रम ल्याउन यो सभा तीन तहका सरकारको ध्यानाकर्षण गराउने घोषणा पत्रमा उल्लेख छ । उक्त घोषणा पत्र पत्रकारहरु माधव अर्याल, मिलन विश्वकर्मा, यज्ञमूर्ति तिमिल्सेना, देव पचाभैया,पदम गैरे, कृष्ण कार्की लगायतले तयार पारेका थिए ।

बन्द सत्रले सचिव रामचन्द्र रायमाझीले प्रस्तुत गरेको महासंघको कार्यप्रगति र सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विजय बौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । बन्द सत्रमा महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघका प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, महासंघ पाल्पाका पूर्व अध्यक्षहरु गोविन्द भट्टराई,  भगवान भण्डारी, राजेश कुमार अर्याल, रेखिराम राना लगायतले आ–आफ्ना कुराहरु राखेका थिए ।  

साधारण सभाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन  गरेका हुन् । सभाको उद्घाटन गर्दै उनले समाज र राष्ट्र निर्माणमा जिल्लाका पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले  हालै संघीय सरकारले निजी मिडियाहरुलाई विभेदन गर्ने गरी ल्याएको निर्णय गलत भएको बताए ।  उद्घाटन सत्रमा जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारी, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, पाल्पा शाखाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, सल्लाहकार कृष्ण दर्नाल, अक्षयकोषदाताको तर्फबाट लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्णा पराजुली, लुम्बिनी प्रदेश सञ्चार परिषद् अध्यक्ष मिलन गाहा, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।  महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्ति न्यौपानेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

पूर्व अध्यक्षहरुलाई सम्मान
यस्तै नेपाल पत्रकार महासंघ  पाल्पा शाखाले पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघले योगदानको कदर गर्दै ६ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको हो ।

महासंघले शाखाका संस्थापक अध्यक्ष  मेघराज शार्मा, गोविन्द भट्टराई, झपेन्द्र गहिरे, भगवान भण्डारी, राजेश कुमार अर्याल र रेखीराम रानालाई सम्मान गरेको हो । उनीहरुलाई सम्मान पत्र र दोसल्लाले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले सम्मान गरेका थिए । लोकतान्त्रिक मूल्य, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार तथा सत्य तथ्यमा आधारित उत्तरदायी पत्रकारिताको संरक्षण र प्रवद्र्धनका निम्ति निरन्तर प्रतिबद्ध रहँदै पत्रकारिता क्षेत्रको गरिमा उन्नयनमा विशिष्ट योगदान पुर्‍याउनुकोे साथै पत्रकारहरूको पेशागत सुरक्षा, हकहित, क्षमता अभिवृद्धि तथा व्यावसायिक मर्यादाको सुदृढीकरणमा दूरदर्शी नेतृत्व प्रदान गर्दै स्थानीय सञ्चार माध्यमहरूको संस्थागत सवलीकरण, समावेशी तथा न्यायोचित विज्ञापन वितरण प्रणालीको पक्षमा सशक्त पैरवी गर्नु गरी नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संस्थागत विकास, एकता, प्रतिष्ठा र प्रभाव विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै महासंघले उनीहरुलाई सम्मान गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update