पाल्पा(रामपुर), जिल्लाको रामपुरमा जेष्ठ नागरिकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जेष्ठ नागरिक समाज बुढानिलकण्ठ नगरपालिकबाट अध्ययन अवलोकनका लागि आएको जेष्ठ नागरिकहरुको टोली र रामपुर नगरपालिकाका जनप्रतिनिधि, जेष्ठ नागरिक र जेष्ठ नागरिक स्कुल व्यवस्थापन समितिबिच रामपुर जेष्ठ नागरिक स्कुलमा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा जेष्ठ नागरिकले आफ्नो अनुभव र ज्ञान बाँडेका थिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिकको सरल जीवन यापन र सम्मानसँगै सिप पुस्तान्तरणका लागि स्कुल सञ्चालन गरेको बताए । उनले जेष्ठ नागरिकहरुको सद्भावका लागि स्कुलको परिकल्पना गरेर नगरपालिकाले सञ्चालनमा ल्याएको जानकारी दिए । जेष्ठ नागरिकहरुसँग भएको अनुभव, सिपसँगै नैतिक शिक्षा आज अपरिहार्य रहेको भन्दै नयाँ पुस्तालाई नैतिकवान बनाउनका लागि पनि स्कुल महत्वपूर्ण हुने बताए । नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई खुसी र सुखी बनाउने कर्तव्य नगरपालिकाको भएको भन्दै यसका लागि थप कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जेष्ठ नागरिक समाज बुढानिलकण्ठका अध्यक्ष डाक्टर रामराज पन्थीले एक्लो जीवन विताइरहेको समयमा समाजमा जोडेर हामीसँग समाज र नगरपालिका साथमा छ भन्ने अनुभूति दिने अद्धितीय र काम गरेको बताए । उनले जेष्ठ नागरिकहरुलाई बदलिंदो समयसँगै विभिन्न डिजिटल सामग्रीको प्रयोग गर्न सिकाउन आग्रह गरे । आफुहरुले हरेक वर्ष उत्कृष्ट जिल्लाको अवलोकन भ्रमण गर्दै आएको भन्दै जेष्ठ नागरिकहरुका लागि स्कुलसँगै बसको पनि व्यवस्था गरेको जानकारी पाएर रामपुर जेष्ठ नागरिक स्कुलमा आएको बताए । यस्तै जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले निष्क्रिय जीवनमा जेष्ठ नागरिकहरुको अधिकार र सुरक्षासँगै सम्मानका लागि नगरपालिकाले सञ्चालन गरेको स्कुल उदहारणीय रहेको बताए । साथै उनले समग्र जिल्लामा जेष्ठ नागरिक र संघको गतिविधिसँगै अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा रामपुर ज्येष्ठ नागरिक स्कुल सञ्चालन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले रामपुर नगरपालिकाको लगानीमा नगरभित्रका विभिन्न स्थानका ज्येष्ठ नागरिकहरुलाई स्कुलमा विभिन्न कार्यक्रम तथा क्रियाकलापमा सहभागी गराउँदै आएको बताए ।
नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता,समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीको स्वागत र सचिव तिर्थ प्रसाद ढुंगानाको सञ्चालनमा कार्यक्रम भएको थियो । नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान सहितको सक्रिय जीवन निर्वाह, संस्कार र संस्कृतिको संरक्षण, पाका पुस्ताहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखेर ‘जेष्ठ नागरिक स्कुल’ सञ्चालनमा ल्याएको हो । रामपुर–५, स्थित रामघाटमा स्कूल सञ्चालनमा ल्याइएको छ ।


