Shittalpati
आज कानुन दिवस मनाइँदै

पाल्पा, आज वैशाख २६ गते अर्थात् ७४ औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ ।

कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो । न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको श्रीगणेश सोही दिनदेखि भएको मानिन्छ ।

सर्वोच्च अदालतले दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

गतिशील समाजका हरेक काम कारबाही र मानवीय गतिविधिहरूलाई नियमन, व्यवस्थापन र सञ्चालन गर्ने औजारका रूपमा कानुनलाई लिइन्छ। कानुन शब्दले विभिन्न प्रकारका नियम तथा सिद्धान्तलाई व्यक्त गर्दछ । विभिन्न काल खण्डमा विभिन्न विद्वानहरूले कानुनका बारेमा विभिन्न धारणाहरू व्यक्त गरेका छन् । सामान्य नागरिकका लागि कानुन आफूले पालना गर्नुपर्ने आदेशको सङ्ग्रह हो भने विधायकहरूको नजरमा समाजको चाहानाअनुरूप आफूले बनाउने नियम हो । सामाजशास्त्रीले कानुनलाई समाज व्यवस्थापनको न्यायिक पक्षको रूपमा लिन्छन् भने दार्शनिकहरूले नागरिकको अधिकार र कर्तव्यको सीमा निर्धारण गर्ने विज्ञान भनी बुझ्दछन् । कतिपयले कानुनलाई न्याय र न्याय प्राप्त गर्ने साधनको रूपमा मानेका छन् । विधि शास्त्री साल्मण्डले कानुन अधिकार मात्र पनि होइन र शक्ति मात्र पनि होइन, यो त दुवैको उत्कृष्ट संयोजन हो भनी तर्क गरेका छन् । सामान्यतः संविधान, ऐन, नियम, निर्देशिका, प्रथा परम्परा, सन्धी सम्झौता, न्यायिक आदेश तथा सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तहरू कानुनको कोटीमा पर्दछन् ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update