पाल्पा (रामपुर),जिल्लाको रामपुरमा एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण, भाषण कला तथा वाक क्षमता वृद्धि गर्ने तालिम दिइएको छ । एकल महिला नगर समन्वय समिति रामपुरको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरुलाई चार दिने उद्घोषण तथा भाषणकला तालिम दिइएको हो ।तलिमको एक कार्यक्रमकाबिच समापन गरिएको छ । तालिममा सहभागिलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले एकल महिलाहरुको उत्थान र अभिभावकीय भूमिका निर्वाह गर्न नगरपालिका प्रतिबद्ध भएर लागेको बताइन् । उनले विगतमा एकल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भए पनि पछिल्लो समय सकारात्मक रुपले हेर्न थालेको बताउँदै सहज जिवनयापनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई छ ।
उपप्रमुख थापाले न्यून आयस्तर भएका एकल महिलाहरुहरुको समस्या समाधानका लागि सबैले सहयोग गर्नु पर्ने भन्दै यसका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने धारणा व्यक्त गरिन् । उनले एकल महिलाहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनका लागि आवश्यकता अनुसार सिपमूलक तालिम सञ्चालन गरी व्यवसायिक प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने बताइन् । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायादेवि नेपालीले नगरपालिका भित्रका सबै एकल महिलाहरुलाई समेटेर आफ्नो अधिकारका लागि सजग भएर अगाडि बढ्न आग्रह गरिन । कार्यपालिका सदस्य शारदा आचार्यले बाध्यात्मक परिस्थितिले एकल जीवन विताई रहेका महिलाहरु एकताबद्ध भएर लाग्नु पर्ने आवश्यकता औँल्याइन् । कार्यक्रममा तालिमका प्रशिक्षक सिता डोटेलले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर तालिमको औचित्य पुष्टी गर्न आग्रह गरिन् । समापनका अवसरमा तालिममा सहभागिहरुको तर्फबाट बोल्दै विष्णु मल्ल, पवि पाटा र मुना घिमिरेले तालिम आफुहरुका लागि उपलब्धिमूलक भएको भन्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाभित्रका २५ जना एकल महिलाहरुको सहभागिता रहेको तालिमको सहजिकरण पत्रकार दानु हिस्की मगर र सिता डोटेलले गरेका थिए । एकल महिला नगर समन्वय समितिकी अध्यक्ष लक्ष्मी देवि ढकालको अध्यक्षता, उपाध्यक्ष कविता मल्लको स्वागत र सचिव विष्णु थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।


