पाल्पा, आज मंगलचौथी व्रत र पूजा गर्ने दिन हो । हिन्दू संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन् । भगवान श्री गणेशलाई मंगलकारक देवताका रूपमा पूजा गर्ने चलन छ ।
आज मंगलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ । यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगलल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मंगलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ । भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धापूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ ।
यस दिन गणेशको व्रत बस्दा धनदेखि मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ । मंगलबार मंगल ग्रहले प्रतिनिधित्व गर्ने बार हो । त्यस्तै चतुर्थी तिथि भगवान गणेशजीको उत्पति भएको तिथिको रुपमा लिइन्छ । गणेशजी जन्मिएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग परेकाले त्यस दिनलाई मंगल चौथी भनिएको हो । यसलाई ‘मङ्गल चतुर्थी’ र ‘अङ्गारक चतुर्थी’ पनि भन्ने गरिन्छ । यस्तो संयोगलाई गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अत्यन्त महत्वपूर्ण तिथिका रूपमा लिइएको छ । मंगल चौथीको दिन गणेश भगवानको स्मरण गर्दै व्रत बस्ने वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुको परम्परा छ । यस दिन व्रत बसे सम्पूर्ण अनिष्टबाट बच्न सकिने, सन्तान प्राप्ति, विद्या, बुद्धि, काम शिद्ध हुने, मांगालिक योगको प्रभाव नहुने र मानसम्मान मिल्ने धनप्राप्ति गराउने गणेश पूराणमा उल्लेख छ । उनलाई बिघ्नहर्ताको रुपमा पनि लिइन्छ । त्यसैले कुनै पनि कार्यमा बाधा आइरहेको छ भने पनि उनको स्मरण गर्दै पूजाआराधाना र व्रत बस्दा समाधान हुने विश्वास रहिआएको छ । मंगलबार भगवानको व्रत बस्न इच्छुक व्रतालुले यस दिनबाट प्रारम्भ गरेमा शुभ हुने बताइएको छ । त्यति मात्र होइन, कुनै पनि शुभ कार्य यसै दिनबाट सुरु गर्दा फलदायी हुने विश्वास गरिन्छ ।


