पाल्पा, वित्तीय विवरणले बैंकहरूको नाफामा वृद्धि भएको देखाएको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक र केही विकास बैंकको नाफा बढेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरुले कुल ४९ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा गरेका छन् । गत आवको चैत मसान्तसम्म ४१ अर्ब २५ करोड नाफा कमाएका बैंकहरूले चालु आवको सोही अवधिसम्ममा १९.३० प्रतिशतले नाफा बढाएका हुन् । रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बनेको छ । नबिलले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा नबिलको नाफा ३३.९२ प्रतिशतले बढेको हो । नबिलपछि धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक छ । ग्लोबलले तेस्रो त्रैमाससम्ममा ४ अर्ब ४० करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । ग्लोबलको नाफा गत आवको चैतसम्मको तुलनामा २.९३ प्रतिशतले घटेको छ । कुमारी बैंकले चालु आवको चैतसम्ममा ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ ।
गत आवको तेस्रो त्रैमासमा २८ करोड ५८ लाख रुपैयाँमात्रै कमाएको थियो । सो अवधिमा एनआईसी एशिया बैंकको नाफा सबैभन्दा कम देखिएको छ । यो बैंकले चैतसम्ममा १४ करोड ३ लाख रुपैयाँमात्र नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले घटेको हो । हिमालयन बैंकले ७६ करोड २५ लाख, प्रभु बैंकले ८५ करोड १५ लाख, राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ७६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड ८७ लाख, सानिमा बैंकको २ अर्ब ३५ करोड नाफा रहेको छ । वाणिज्य बैंकहरूमा जस्तै विकास बैंकहरूको नाफामा पनि सुधार आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार राष्ट्रिय स्तरका आठ विकास बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो । चालु आवको चैतसम्ममा राष्ट्रिय स्तरका आठ विकास बैंकहरूले ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको नाफा कुल ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ थियो । सार्वजनिक वित्तीय विवरण अनुसार राष्ट्रियस्तरका सबै विकास बैंकहरूको नाफा बढेको छ ।


