पाल्पा, आज वैशाख १५ गते राष्ट्रिय चिया दिवस । यो चिया किसानहरु लागि महत्वपूर्ण दिन हो । देशमा विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्न थालेको नेपाली चियाको विकास विस्तार र बजारीकरणमा सहयोग पुर् याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
चिया तथा कफी विकास बोर्डले हरेक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गर्दछ । यस वर्ष ३० औं संस्करणका रुपमा यो दिवस मनाइँदै छ । विसं १९२० मा इलाम चिया बगानबाट रोपण सुरु गरिएको चिया अहिले २० हजार दुईसय १९ हेक्टर जमिनमा विस्तार तथा उत्पादन भइरहेको बोर्डले जनाएको छ ।बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा निस्टेप परियोजनामार्फत् स्थापित चिया बगानको व्यवस्थापनदेखि बजारीकरणसम्मको गुणस्तरमा पारदर्शिता कायम गरी विश्व बजारको मागअनुरूप अर्गानिक प्रमाणीकरणमा उत्पादक तथा उद्योगीलाई सहयोग गर्दै आएको जनाएको छ ।
विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार चियाको गुणस्तर, अन्तर्राष्ट्रिय बजार, व्यावसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवं विकासका थुप्रै चुनौती रहेको बोर्डले जनाएको छ । नेपाली चियाको ९० प्रतिशतभन्दा बढी निकासी भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यात अवरोधका कारण नेपाली चिया न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै चिया क्षेत्रमा आवश्यक विद्युत् तथा सिँचाइ पूर्वाधार अभाव, भन्सार नाकामा निर्यात प्रवद्र्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिन सक्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नहुनु, अति नै न्यून विनियोजित स्रोत/साधन, अन्य कृषिजन्य उद्योगसरह सहुलियत ऋणलगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको अवस्था रहेको बताइएको छ । तयारी चियाको विशिष्टीकृत गुणस्तरमा ध्यान दिँदै दीर्घकालीन समस्या समाधानका लागि चीन, रूस, इयु, अमेरिकालगायत मुलुकसँग जिटुजी सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत् नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गरिनुपर्ने बोर्डको भनाइ छ । बोर्डका अनुुसार वार्षिक करिब चार अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुँदै आएकोमा त्यसलाई बढाएर १० अर्ब पु¥याउन सकिने सम्भावना रहेको छ ।


