पाल्पा, आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्वभर हरेक वर्ष यो दिवस मनाइने गरिएको हो ।
नेपाल विपोको सदस्य राष्ट्र हो । विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रवद्र्धक, लेखक, सर्जकलाई एक–आपसमा जोडी सम्बन्ध विस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रवद्र्धन गरी जनचेतना फैलाउने नीति रहेको छ । कुनै पनि व्यक्तिको बुद्धी एवं ज्ञान बौद्धिक सम्पत्ति हो, यो भौतिक सम्पत्तिभन्दा पनि ठूलो हुन्छ । अहिलेको युग अर्थात समय ज्ञानको युग हो । हरेक विकास व्यक्तिको ज्ञानका आधारमा अगाडि बढेको छ । आज प्रत्येक व्यक्ति वा संस्थाले आफ्नो बौद्धिक सम्पत्तिको उपयोग गरेर भौतिक वस्तु विक्रि गरेको आम्दानी भन्दा धेरै आम्दानी गर्दै आएको छ । त्यसैले बौद्धिक सम्पत्ति वर्तमान युगको पहिलो हतियार हो भन्दा अन्यथा हुदैछ । बौद्धिक ज्ञान र अधिकारका कारण नै मानिसहरू नयाँ खोज र आविष्कार गर्न उत्साहित हुने गरेका छन् । तर बौद्धिक सम्पत्तिको अधिकार संरक्षण चुनौति बनेको छ । नेपालमा बौद्धिक सम्पत्ति जगेर्ना गर्न कानूनहरु निर्माण गरिएको भएपनि बौद्धिक सम्पत्ति चोरी तथा अनुमति नलिई प्रयोग गर्ने क्रम निरन्तर जारी छ । यसबाट व्यक्तिको अधिकार कुण्ठित हुदै आएको छ भने राष्ट्रले आफुनो सम्पत्ति गुमाउदै आएको छ । नेपालमा पर्याप्त मात्रामा सिर्जना भएका छन्, नविन आविष्कार भएका छन् । जसले मानव समाजलाई ठुलो योगदान दिएको छ । तर, त्यसलाई संरक्षण गर्न सकिएको छैन । एउटा स्रष्टाले जीवनको महत्वपूर्ण समय सिर्जनमा बिताउँछ । तर, उसको त्यो सिर्जना अर्कैले चारी गरि त्यसको लाभ लिन पुग्छ । यसले व्यक्तिले मात्र होइन राष्ट्रले पनि गुमाएको छ ।


