Shittalpati
आनन्द सहकारीले दियो  शेयर सदस्यलाई ‘सहकारी शिक्षा’

पाल्पा,सहकारी संस्थाहरुमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै जिल्लाको तानसेनमा रहेको आनन्द बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिएको छ ।  बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भई छोटो समयमै समृद्धिको यात्रामा फड्को मारेको सहकारीले शनिबार पर्यटकीयस्थल श्रीनगरडाँडामा एक कार्यक्रमकाबिच शेयर सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान दिनका लागि सहकारी शिक्षा तथा अभिमुखीकरण दिएको हो । सहकारी बारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियम बारे सदस्यहरूलाई जानकारी दिन सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सरोजलाल शाक्यले बताए । 

उनले भने “शेयर सदस्यहरु सहकारीका मालिक हुन्, उनीहरुलाई सहकारीका बारेमा ज्ञान दिन सकियो भने सहकारीलाई थप मजबूद बनाउन सहयोग पुग्छ भन्ने हाम्रो बुझाई हो ।” शेयर सदस्यहरुले सहकारीको सिद्धान्त र त्यसको उद्देश्यका विषयमा जानकारी नहुँदा समस्या उत्पन्न हुने भएकाले सहकारी बारे शिक्षा दिइदै आइएको अध्यक्ष शाक्यले बताए । तालिममा प्रशिक्षक सहकारी अभियान्ता तथा जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष भूपति पाण्डेयले शेयर सदस्यहरुलाई सहकारीको इतिहास, सहकारी के हो ? सहकारीका सिद्धान्त, विशेषता, बचत गर्ने तरिका, ऋणको सदुपयोग, दुरुपयोग, सहकारीका समस्या, समाधानका उपायहरु, शेयर सदस्यहरुको भूमिका लगायतका विषयमा जानकारी गराएका थिए । सहकारी शिक्षा बारे प्रशिक्षण दिदैं उनले सहकारीलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन शेयर सदस्यहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।  अध्यक्ष पाण्डेयले सदस्यले सस्थाले गरेका काममा वाचडगको रुपमा काम गर्नुपर्ने उल्लेख गरे । उनले स्वस्थ र खुसी सदस्य बनाउने दिशामा सहकारीले दीर्घकालीन रणनीति बनाउने योजना बनाएकाले त्यसमा सदस्यहरुले साथ दिनुपर्नेमा जोड दिए ।  पाण्डेयले सहकारीमा दोहोरो सदस्यता नलिन पनि शेयर सदस्यहरुलाई आग्रह गरे । संस्थामा सुशासनको प्रत्याभूति सदस्यहरुबाटै हुनुपर्नेमा उनले जोड दिए । उनले एक सस्था, एक सदस्य  र अनेक कार्यक्रममा सहभागिता जनाउनु नै असल शेयर सदस्यको दायित्व भएको बताए । अध्यक्ष पाण्डेयले आनन्द सहकारीले सदस्य केन्द्रीत कार्यक्रम गर्ने गरेको भन्दै संस्थालाई धन्यवाद दिए । उनले समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालन भएका सहकारी संस्थाहरु बैंक भन्दा पनि राम्रोसँग सञ्चालन भइरेको बताए । उनले विश्वका कतिपय देशले सहकारीमार्फत नै आर्थिक तथा सामाजिक रुपान्तरण गरेका थुप्रै उदाहरण रहेको भन्दै नेपालमा पनि सहकारीले आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्ने दावी गरे । ठूला शहरी क्षेत्रमा रहेका केही सहकारी मूल्य, मान्यता सिद्धान्त बाहिर सञ्चालित सहकारीमा मात्र अहिले समस्या आएको उनले बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष  सरोजलाल शाक्यले  सहकारीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म  गरेका गतिविधि र आगामी दिनमा गर्ने योजना प्रस्तुत गरेका थिए । उनले एक हजार दुई सय १९ सदस्यहरुबाट निष्क्रिय सदस्यहरुलाई हटाएर एक हजार एक सय ८० सदस्यहरु कायम गरिएको बताए । अध्यक्ष शाक्यले सदस्यहरु घटे पनि नौं महिनाको अवधिमा शेयर पुँजी भने २ लाख ६६ हजार २ सयले वृद्धि गरिएको, ६ दशमलव ७ प्रतिशत अर्थात् ९६ लाख ४१ हजार  एक सय २४ ले निक्षेप वृद्धि गरिएको, बैंक मौज्दात ९५ लाखले बढेको बताए । उनले आगामी दिनमा  निष्क्रिय सदस्य घटाउने, एसएमएस र मोवाईल बैंकिङ्मा सदस्य संख्या बढाउने योजना अगाडि सारेका छन् । अध्यक्ष शाक्यले  दुई जना बच्चा जन्माउने शेयर सदस्यलाई पोषण खर्चबापत प्रति बच्चा ४ हजार, कुनै सदस्यको मृत्यु भएमा संस्कार खर्च १० हजार, दीर्घरोगीलाई १० हजार, दुर्घटना विमा, २ लाख र आगलागी भएमा क्षतिको अवस्था हेरेर १० लाख सहकारीले दिर्दै आएको बताए । उनले इमान्दार र शिक्षा, सामाजिक कार्यमा लामो समय अनुभव संगालेका ब्यक्तिहरु सहकारी सञ्चालक समितिमा रहेकाले आनन्द सहकारीप्रति आम नागरिकमा विश्वास बढ्दै गएको उल्लेख गरे । संस्थाका निवर्तमान अध्यक्ष सर्जुलाल बज्राचार्यले सदस्यले आफ्नो कर्तव्य निर्वाह गर्नु पर्ने बताए । उनले सहकारीको अवस्थाको बारेमा बेला–बेलामा कार्यालयमा आएर बुझ्न सदस्यहरुलाई आग्रह गरे । बज्राचार्यले सहकारीको अवस्था हेरेर काम गर्ने सदस्य नै वास्तविक सदस्य भएकाले सहकारीलाई समस्या पर्दा सहयोग गर्ने र आवश्यक पर्दा सहभागिता जनाउनु सदस्यको असल भूमिका रहेको बताए । कार्यक्रममा सहभागी शेयर सदस्य सञ्जयराज शाक्यले तालिम अत्यन्त उपलब्धिमूलक रहेको बताए । उनले सहकारी शिक्षा सबै शेयर सदस्यहरुका लागि आवश्यक रहेको भन्दै तालिमले सहकारीलाई थप मजबूद बनाउने बताए ।

सहकारीले पछिल्लो समय सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन सदस्य केन्द्रित महत्वपूर्ण कामहरु अगाडि बढाएको छ । यसका लागि  सहकारीले शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिनेदेखि उनीहरुको आर्थिक समृद्धिको क्षेत्रमा उल्लेखीय रुपमा काम गर्दै आएको हो । सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएकोे छ । आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि आनन्दले शेयर सदस्यहरुमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको छ । शनिबार सहकारीले सहकारी शिक्षा अभिमुखीकरणसँगै शेयर सदस्यहरुबिचको भेटघाट र विभिन्न रचनात्मक खेल प्रतियोगिताहरु समेत सञ्चालन गरेको थियो । कार्यक्रम संस्थाका सचिव विनयराज बज्राचार्यको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update