Shittalpati
आज परशुराम जयन्ती मनाइँदै

पाल्पा, वैशाख शुक्ल तृतीयाका दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उनको जन्म भएको हो ।

ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि माता जीवित भएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । आमा मारेको कुरा अरुले थाहा नपाऊन् भनी सो वर मागेको उल्लेख गरिएको छ । अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रÞमाण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गर्नुभएको थियो ।

क्षेत्रीयमा अहड्ढार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उनले जन्म लिएका वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको छ । राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गरेका थिए भन्ने वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको छ । द्वापर युगका प्रमुख योद्धाहरू भीष्म, द्रोणाचार्य तथा कर्ण परशुरामकै शिष्य थिए । कर्णले असत्य बोलेर आफूसँग शिक्षा लिएका कारण रिसाएर उनले कर्णलाई युद्धका समयमा आफूले सिकाएका सारा विद्या बिर्सने श्राप दिएका थिए । परशुराम कुनै समाज विशेषको आदर्श नभएर सम्पूर्ण हिन्दू समाजका आदर्श एवं चिरञ्जीवी हुन । उनी रामका समयमा पनि थिए भने कृष्णका समयमा पनि थिए । भगवान् कृष्णलाई सुदर्शन चक्र उनैले दिएका थिए । भनिन्छ, परशुराम कलिको अन्त्यमा फेरि आउनेछन् । मान्यताअनुसार उनी कल्पको अन्तसम्म नै पृथ्वीमा तपस्यारत हुनेछन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update