Shittalpati
पूर्वखोला गाउँपालिकाले गर्यो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई   

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । पालिकाले वडा नं. २ जल्पामा घुम्ती सार्वजनिक सुनुवाइमार्फत साउनदेखी फागुनसम्म गरेका  गतिविधिहरु  सार्वजनिक गरेको हो ।

पालिकाले ८ महिनाको अवधिमा चालुतर्फ ५४ प्रतिशत र पँुजीगततर्फ १६ प्रतिशत बजेट खर्च गरेको छ । उसले १ करोड आन्तरीक आम्दानी गर्ने लक्ष्य राखे पनि हालसम्म २८ लाख रुपैयाँ मात्र आम्दानी गरेको पाइन्छ ।  पालिकाले यो अवधिमा स्वास्थ्य, शिक्षा, कृषितर्फत थुप्रै काम गरेको जनाएको छ । स्वास्थ्यतर्फ पालिकाले ५ सय ७१ जना विद्यार्थीमा नसर्ने रोग र मानसिक स्वास्थ्यको बारेमा सचेतनात्मक अन्तरक्रिया गरेको, ७ जना मानसिक विद्यार्थीलाई मनोपरामर्श सेवा दिएको, पालिकाका सबै आधारभुत र माध्यमिक विद्यालयका ७ सय ३३ जना किशोरीको रक्तअल्पता परीक्षण गरिएको, एकिकृत घुम्ती शिविरमार्फत ४ सय ४७ जनालाई चेकजाँच, २१ जनालाई इम्प्लान्ट, १ सय ९७ जनालाई भिआइए सेवा, ३ सय ९५ जनालाई एचपिभी डिएनए सेवा, १२ जना पाठेघर खसेका महिलाको उपचार, १० जना भिआइए पोजेटिभलाई सेवा प्रदान गरेको छ ।  यस्तै विपन्न नागरिक औषधी उपचार अन्र्तगत ६ जना क्यान्सर, २ जना मुटु, ३ जना मृगौला, रोगीलाई सिफारिस प्रदान गरेको, जटिल रोगका ५३ जनालाई मासिक ५ हजारको दरले उपचार खर्च प्रदान गरेको, पालिकाको स्वास्थ्य संस्थाबाट ७ हजार ५ सय २९ जना नयाँ विरामीले उपचार सेवा लिएको, १ सय १२ जनाले पूर्णखोप पाएको, १९ जना क्षयरोगी भेटिएको, ३५ जना स्वास्थ्य संस्थामा र अन्य अस्पतालमा ६७ जना गरी १ सय २ प्रसुती सेवा लिएका पालिकाले सार्वजनिक सुनुवाईमा जानकारी  गराएको छ ।

यस्तै शिक्षातर्फ ३६ जना अविभावकविहिन बालबालिकालाई ६ हजारदेखी ९ हजारका दरले छात्रबृत्ति उपलब्ध गराएको, कक्षा ११ र १२ मा  अध्ययन गर्ने सबै छात्रालाई ३ सयका दरले छात्रबृत्ति वितरण गरेको पालिकाले जनाएको छ । पालिकाको शिक्षातर्फ २१ करोड ४६ लाख ४० हजार बजेट मध्ये १४ करोड २७ लाख ७७ हजार खर्च भएको सार्वाजनिक सुनुवाईमा जानकारी दिइएको छ । यसैगरी कृषितर्फ २ सय २८ जना कृषकलाई ५ सय ७० केजी तोरीको विउ वितरण गरेको, २ सय ७ जना कृषकलाई २० हजार किलो जैविक मल वितरण गरेको, हेक्लाङ्खमा तरकारी पकेट कार्यक्रमको  लागि १२ लाखको लागतमा साझेदारी कार्यक्रम अगााडि बढाइएको, ९१ जना कृषकको माटो परीक्षण भएको, कृषकहरुलाई ६ हजार ९ सय ४४ केजी मकैको विउ वितरण गरेको, ३ हजार ३ सय किसानलाई करेसावारी अन्र्तगत कम्पोजिट विउ वितरण गरेको पालिकाले जनाएको छ ।  पालिकाको बार्षिक योजना र कार्यक्रममा ३ सय ४९ वटा योजना रहेकोमा १ सय १ वटा सम्पन्न भएको, ८० वटाको काम भईरहेको, बजेटको सुनिश्चितता नहुँदा १ सय ५६ वटा योजना सम्झौता हुन बाँकी रहेको, ठेक्काबाट १६ वटा योजनाको काम तथा प्रक्रिया  अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । गाउँपालिकाले प्रदान गरेका सेवा तथा सञ्चालन गरेका विकास निर्माणको बारेमा आमजनतालाई जानकारी गराउने, जनताको प्रतिक्रिया लिने, जनताका गुनासोहरु सुन्ने र पालिकाको सेवा प्रवाहमा सुशासन, जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्व प्रवद्र्धन गर्ने, विकासमा जनताको अपनत्व बढाउन  सार्वजनिक सुनुवाई  गरिएको उनको भनाई छ  । कार्यक्रममा विपद व्यबस्थापन, नापी नक्सा, सामाजिक विकास शाखा, न्यायिक समिति, बालमैत्री स्थानीय शासन, सामाजिक सुरक्षा भत्ताको बारेमा समेत हालसम्म भएका कामहरुको बारेमा जानकारी गराईएको थियो । जहाँ नागरिकले विभिन्न गुनासा तथा सुझाव राखेका थिए । उनीहरुले पालिकाबाट स्थलगत निरिक्षण गरेर आवश्यकताको आधारमा  मात्र कार्यक्रम बजेट बनाउनु पर्ने, ३ लाख भन्दा मुनिका योजना एकै पटक सक्ने गरी बजेट विनियोजन गर्नुपर्ने, महिला, दलित लक्षित कार्यक्रम काटिएकाले पुनः सञ्चालन गर्नुपर्ने, गाउँ–गाउँमा रोजगारीमुलक दिगो कार्यक्रम सञ्चालन गुर्नुपर्ने, पालिका तथा वडाले गर्ने विविध कार्यक्रमहरु घोषित समयमै गर्नुपर्ने, नापी नक्साको सचेतना शिविर वडा–वडामा सञ्चालन गर्नुपर्ने, युवा लक्षित कार्यक्रम बढाउनुपर्ने लगायतका सुझाव तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा आएका गुनसाहरुको पालिका अध्यक्ष नुनबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, वडा अध्यक्ष निर बहादुर सारु लगायतले जवाफ दिएका थिए ।

पालिका अध्यक्ष  थापाले जनताले उठाएका गुनासा, सुझावहरुलाई कार्यान्वयन गरिने बताए । जनताबाट आएका सुझाव गुनसा केही प्रमुख प्रशासकीय अधिकृत मार्फत नै तत्कालै सम्वोधन हुने छन् भने केही कार्यपालिकाको बैठकमा राखी सम्वोधन गरिने उनको भनाई छ । गाउँपालिमा शुसासन कायम गर्न, गाउँपालिकालाई नमुना पालिका बनाउन, सबै किसिमका विकासका गतिविधिलाई अघि बढाउन, सबै नागरिक एक भएर लाग्नु पर्नेमा उनले जोड दिए । जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर सबैभन्दा बढी बजेट विनियोजन गरेर काम गरेकाले पाल्पा जिल्लामै प्रथम गाउँपालिका भएको अध्यक्ष थापाले बताए । उनले भने “सबै स्वास्थ्य चौकीमा दक्ष कर्मचारी सहितको दरवन्दीको व्यवस्था गरेका छौं, गाउँ–गाउँमा ल्याव सेवादेखी सुगर, प्रेसर जस्ता रोगहरुको नियमित चेकजाँच देखी वडा–वडाको सबै स्वास्थ्य चौकीमा प्रसुती सेवाहरु सञ्चालनमा रहेकाछन् ।”

 पाल्पा विकास केन्द्रको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम पालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको स्वागत र केन्द्रका संयोजक किरण कौशलको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update