पाल्पा, विपद् व्यवस्थापन र वन डढेलो नियन्त्रणमा सबै पक्षबिच समन्वय र सहकार्यमा जोड दिइएको छ । शुक्रबार तानसेनमा बसेको जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैंठकले सुक्खा मौसमसँगै हरेक वर्ष वन डढेलोबाट हुने विपद्का घटना वर्षेनि वृद्धि भइरहेको भन्दै विपद् प्रतिकार्य, विपद् पूर्वको तयारी, उद्धार र राहतमा सबै पक्षबिच सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिएको हो ।
बैंठकमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, राजनीतिक दल, सम्बन्धी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतले विपद् व्यवस्थापनमा सबै पक्ष जिम्मेवार भएर लाग्ग्नुपर्नेमा जोड दिए । सहभागीहरुले प्राकृतिक कारणलेभन्दा मानव सिर्जित आगलागीका कारण वन क्षेत्रमा डढेलोको जोखिम बढी रहेको भन्दै सेचतनाका कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउनु पर्ने बताए । बैंठकमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी तानसेन नगरका सभापति जीवन पाण्डेय, नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती, नेकपाका जिल्ला संयोजक अशोक कुमार शाही, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नरायणबहादुर कार्की, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, पूर्वखोला गाउँपालिकाकी उपाध्यक्ष भागिरथी शर्मा भट्टराई, निस्दी गाउँपालिका उपाध्यक्ष.तीरन कुमारी श्रेष्ठ, माथागढी गाउँपालिकाकी उपाध्यक्ष विष्णु माया लुङ्चे, तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरी, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्की लगायतले आ–आफ्नो ठाउँबाट विपद् जोखिम र डढेलो नियन्त्रणमा भूमिका खेल्ने बताए । बैंठकले विभिन्न निर्णयरु समेत गरेको छ । जिल्लामा विपद व्यवस्थापनका लागि पूर्व तयारी गरिने, चैत, बैशाख र जेठ महिना बढी आगलागी डढेलोको जोखिम हुने महिना भएकोले जिल्लामा डढेलो/आगलागी हुने सम्भाव्य क्षेत्रको नक्शाङ्कन गर्ने, सचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने, आगलागी भएको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी, स्थानीय वन उपभोक्ता समूह, डिभिजन वन कार्यालयको टोली तुरुन्त परिचालन गर्ने, आगलागी नियन्त्रण गर्न दमकल नभएका स्थानीय तहहरुले आगामी २ महिनाको लागि चारपाङ्ग्रे सवारी साधन (पहाडी कच्ची बाटोमा समेत गुड्न सक्ने खालको) भाडामा लिने, पानी ट्याङ्कर वा हिल ट्याङ्कीमा पानी संकलन गरी राख्ने, ४/५ जना वन हेरालु फायर फाईटर टोली परिचालन गर्ने, डिभिजन बन कार्यालयले स्थानीय तहहरुसँग समन्वय गर्ने, सामुदयिक वन उपभोक्ता समूहहरुलाई डढेलो नियन्त्रण तालिम दिई जिम्मेवार बनाउने, अग्नी नियन्त्रण औजारहरु वितरणको व्यवस्था मिलाउने, आगलागी/बन डढेलो नियन्त्रण गर्न सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाई परिचालन गर्ने, वन उपभोक्ता समूहहरुले सामुदायिक वनमा रहेको झारपात हटाउने, अग्नी रेखा बनाउने, वनमा ढली सडेका रुखहरु हटाउने वा हिल ट्याङ्कीमा पानी संकलन गरी तयारी अवस्थामा राख्ने लगायतका निर्णय बैंठकले गरेको छ ।
यस्तै हेलचक्रयाई वा लापरवाही गरी आगलागी वा वन डढेलो लगाउने व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउन सूचना संयन्त्रलाई बलियो बनाई सूचना संप्रेषण गर्ने र गैरकानुनी रुपमा वन डढेलो लगाउने व्यक्तिलाई कानुनी कारवाही गर्ने, निजी आवास पूननिर्माणको लागि नियमानुसार निकासा हुनु पर्ने रकम उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा अनुरोध गर्ने, आगामी आ.व.२०८/८४ को लागि स्थानीय तहको बजेटमा विपद् व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्ने, साथै स्थानीय तहले एक्लै वा दुई वा दुई भन्दा बढी स्थानीय तहको लागत साझेदारीमा बारुणयन्त्र खरिद गरी सो सञ्चालनको मोडालिटी निर्माण गर्ने पनि निर्णय भएको छ । बैंठकमा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले निजी आवास/प्रबलीकरण, पुनः निर्माण तथा पुनस्थापना र डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत खिलबहादुर तामाङले कार्यालयले डढेलोको जोखिम न्यूनिकरणका लागि गरेको पूर्व तयारी र जिल्लामा वन डढेलोको अवस्थाका बारेमा प्रस्तुतिकरण राखेका थिए । प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुंवरको अध्यक्षतामा बैंठक बसेको थियो ।


