पाल्पा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षाका लागि पाल्पामा आवश्यक तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
यस वर्ष पाल्पाबाट ४ हजार ७ सय ९५ परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाका प्रमुख प्रेमराज खरेलले बताए । उनका अनुसार छात्र २ हजार २ सय ८३ र छात्रा २ हजार ५ सय १२ जना विद्यार्थी रहेका छन् । नियमिततर्फ ३ हजार ५ सय ६३ र ग्रेड बृद्धितर्फ एक हजार २ सय ३२ जना विद्यार्थी रहेको ईकाइ प्रमुख खरेलले बताए । जहाँ नियमित अन्तर्गत साधारणतर्फ ३ हजार ३ सय ३४ र प्राविधिकतर्फ २ सय १७ जना विद्यार्थीले परीक्षा दिदैं छन् । पाल्पामा वर्षेनी परीक्षा दिने विद्यार्थी घट्दै गएका छन् । अघिल्लो वर्षको तुलनामा यहाँ एक सय १५ कम विद्यार्थीले परीक्षा दिन लागेका शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले जनाएको छ । गत वर्षको एसइईमा ४ हजार ९ सय १० जना विद्यार्थीले परीक्षाको लागि रजिष्ट्रेशन भरेका थिए । यो संख्या त्यो भन्दा अघिल्लो वर्षको तुलनामा बढी थियो । यहाँ २०७६ मा ५ हजार १८ जना विद्यार्थीले परीक्षा दिएकोमा २०७७ मा ४ हजार ८ सय ८४ , २०७८ मा ४ हजार ८२ , २०७९ मा ४ हजार ५ सय ५४ , २०८० मा ४ हजार १ सय ८४ र २०८१ मा ४ हजार ९ सय १० जना जना विद्यार्थीले एसइई दिएका थिए । यस वर्ष जिल्लामा सामुदायिक विद्यालयका ४ हजार २ सय ६२ र संस्थागत विद्यालयबाट ५ सय ३५ जना परीक्षार्थी परीक्षामा सहभागी हुन लागेका छन् । जहाँ सामुदायिकतर्फ एक हजार ९ सय ८६ छात्र र २ हजार २ सय ७७ छात्रा रहेका छन् । यस्तै संस्थागत विद्यालयतर्फ २ सय ९८ जना छात्र र २ सय ३५ जना छात्रा रहेका छन् । यस वर्ष परीक्षाको लागि २६ वटा केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रका लागि २६ जना केन्द्राध्यक्ष, ४६ जना सहायक केन्द्राध्यक्ष, २ सय ४३ निरीक्षक, ५० जना परीक्षा सहायक, ५२ जना विद्यालय सहयोगी र ४ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा सबै भन्दा कम ९४ जना चन्द्र मावि चापपानी केन्द्र र सबै भन्दा बढी ३ सय १० दरैठाँटी मावि रामपुर केन्द्रबाट परीक्षार्थी सहभागी हुँदै छन् । यस वर्ष दमकडा मावि केन्द्रबाट एक जना दृष्टिविहीन विद्यार्थीले परीक्षा दिदैं छन् ।
देशभरबाट पाँच लाख बढी विद्यार्थी
चैत २९ गतेसम्म हुने एसइई परीक्षामा यस वर्ष पाल्पासहित देशैभरबाट पाँच लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जहाँ नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिर्दै छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी छ । यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुने छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् ।
यस्तो छ परीक्षा तालिका
चैत १९ गते बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने छ ।
परीक्षा अनुगमनमा रोक
बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घस·ठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको छ । परीक्षा हलभित्र दृश्य छायाड्ढन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले सबैमा आग्रह गरेको छ ।
उत्तरपुस्तिका परीक्षा केन्द्र्रमै परीक्षण गरिने
यस वर्ष उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्र (सेन्टर) मा नै परीक्षण गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो । अघिल्ला वर्षहरूमा केन्द्रबाट उत्तरपुस्तिका इकाईले संकलन गरी अन्तर जिल्ला र प्रदेशमा परीक्षण गर्ने गरिएको थियो । कुन परीक्षा केन्द्रको उत्तरपुस्तिका कहाँ परीक्षण हुने विषय गोप्य रहने गरेको थियो । त्यसो गर्दा नतिजा प्रकाशन गर्न औसतमा साढे दुई महिनाभन्दा बढी समय लाग्ने गरेको थियो । तर यसपटक शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएपछि बोर्डले परीक्षा सेन्टरमा नै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।


