Shittalpati
पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचितहरुले गरे शपथ तथा पदभार ग्रहण  

पाल्पा,पाल्पा उद्योग वािणज्य संघमा नव निर्वाचित अध्यक्ष समिरमान सिंहको नयाँ कार्यसमितिको आज पदस्थापन तथा शपथग्रहण भएको छ ।  गएको चैत्र १४ गते शनिवार तीन वर्षे कार्यकालका लागि संघको निर्वाचन भएको थियो । 

लुम्बिनी प्रदेश सांसद विरबहादुर राना, निर्वाचन समिति, निर्वाचन अधिकृत,संघका पुर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष लगायतको सहभागितामा सपथ तथा पदभार ग्रहण कार्यक्रम भएको हो । निर्वाचन अधिकृत टंक प्रसाद पन्थले आधिकारिक नतिजा सुनाउदै नवनिर्वाचित अध्यक्ष समिरमान सिंहलाई सपथ खुवाए भने अध्यक्षले निवर्तमान अध्यक्षसहित नवनिर्वाचित सम्पूर्ण पदाधिकारी सदस्यलाई शपथ खुवाएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विरबहादुर रानाले यस अघि विभिन्न क्षेत्रमा विभिन्न भुमिकामा रहेर काम गरे पनि  संघ भित्र आईसकेपछि पुरानो भुमिका तथा राजनीति भन्दा माथी उठेर उद्योगी व्यबसायीहरुको हकहितमा मात्र ध्यान दिएर काम गर्नु नवनिर्वाचितहरुलाई अनुरोध गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सहसचिव दिलिप घिमिरेले पाल्पा उद्योग वणिज्य संघमा बढी राजनीति हुने गरेकोले आगामी दिनमा राजनीति भन्दा पनि उद्योगी व्यबसायीहरुको हकहितमा काम गर्न सुझाव दिए । तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकासको लागि नवनिर्वाचित संघको टिमसँग समन्वय र सहकार्य गरेर काम गर्न नगरपालिका तयार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मोहन प्रसाद श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरि रायमाझी लगायतले संघले उद्योगी व्यापारीको मात्र हित नहेरी विभिन्न सामाजिक कामदेखी तानसेनको हरेक विकासमा सहयोग सहकार्य गर्दै आएको बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले जनप्रतिनिधी नहुँदा  संघले पाल्पाको विकासमा जनप्रतिनिधीले जस्तै समन्वय सहकार्य गरेर काम गरेको ईतिहास पुनः कायम गर्ने गरी काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे  कार्यक्रम नव निर्वाचित अध्यक्ष समिरमान सिंहले पाल्पाको पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य एजेण्डा बनाएर काम गर्ने प्रतिवद्धता जनाए । संघका निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता, वाणिज्य उपाध्यक्ष  रञ्जना थापा अर्याल धन्यवाद, संघका कार्यकारी निर्देशक शुसिल प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update