पाल्पा, गर्मी मौसम सुरु भएको छ । गर्मीयाम सुरुसँगै डेंगी र इन्सेफलाइटिसका बिरामी बढ्न थालेका छन् । सामान्यतया यस्ता संक्रमण अन्य मौसमको तुलनामा गर्मीयाममा बढी देखिने गर्दछन् । समयमै रोकथाम तथा नियन्त्रण गर्न सकिएन भने लामखुट्टेबाट सर्ने सरुवा रोगको जोखिम बढ्दै जान्छ । जोखिम बढ्दै जान सक्ने तर्फ ध्यान दिर्दै जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले भने उच्च सतर्कता अपनाएको छ । उसले जिल्लाका सरोकारवाला निकायहरुसँग बसेर जोखिम नियन्त्रणका लागि छलफल तथा पैरवी गरेको छ ।
सचेतता नअपनाएको खण्डमा जटिल अवस्था निम्तिन सक्ने भन्दै उसले डेंगी र इन्सेफलाइटिस रोगका बारेमा सरोकारवालाहरुलाई सचेत गराएको हो । बुधबार तानसेनमा रोग लाग्ने अवस्था, लक्षण, उपचार तथा रोकथामका उपायबारे छलफल गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालयका बरिष्ठ ल्याव टेक्निसियन मधुसुधन भट्टराईले डेंगी रोगको प्रकृति, संक्रमण हुने तरिका र जोखिमबारे जानकारी गराए । डेंगी मुख्यतः एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने र जुन सफा पानी जमेको स्थानमा बढी फैलिने भट्टराईले बताए । उनले डेंगी लागिसकेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछाडी दुखाइ, शरीर दुख्ने तथा केही अवस्थामा रगत बग्ने जस्ता गम्भीर लक्षण देखिन सक्ने बताए । समयमै उपचार नभए ज्यान जोखिममा पर्न सक्ने भएकाले लक्षण देखिएपछि तुरुन्त स्वास्थ्य संस्थामा जान ल्याव अधिकृत भट्टराईले आग्रह गरे । विगत ४ बर्षको अवधिमा पाल्पामा एक हजार ३ सय २७ जनामा डेंगी सक्रमण भएको र ५ जनाको मृत्यु भएको उनले बताए । यसको नियन्त्रण गर्न सबैभन्दा प्रभावकारी उपाय खोज र नष्ट गर नै रहेको भट्टराईले बताए । कार्यक्रम अधिकृत विश्वनाथ न्यौपानेले जापानिज इन्सेफलाइटिसबारे जानकारी गराउँदै यो रोग पनि लामखुट्टेको टोकाइबाट सर्ने र विशेषगरी धानखेती हुने क्षेत्र तथा खेतिपाती हुने स्थानका मानिसहरू बढी जोखिम रहेको बताए । घरपालुवा जनावर सुगुर, वंगुर, हाँस, बकुल्ला लगायतका जनावरमा हुने जापानिज इन्सेफलाईटि भाईरस लामखुट्टेको टोकाइबाट मानिस सर्ने गर्दछ । यो रोगले मस्तिष्कमा असर गर्ने भएकाले ज्वरोसँगै टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने तथा स्नायु प्रणालीमा समस्या देखिने जस्ता लक्षणहरू देखा पर्न सक्ने र समयमै उपचार नपाएमा अपा·ता वा मृत्यु समेत हुन सक्ने भएकाले यसको रोकथाममा विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाई छ । अहिले नेपालका ६० जिल्लामा यो रोग फैलिएको छ । पाल्पामा हाल ४ जनामा यो रोग देखिएको छ भने सन २०२२ मा एक जनाको मृत्यु समेत भएको थियो । सन् २०१६ देखी नेपाल सरकारले यो रोगबाट बच्न जन्मेको एक बर्षमा निःशुल्क खोप सेवा दिदै आएको छ । सन २०१६ भन्दा पहिले जन्मिएका व्यक्तिहरुमा जापानिज इन्सेफलाईटिस सक्रमणको दर उच्च रहेको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले सरुवा रोग नियन्त्रणका लागि सचेतना, सावधानी र समुदायस्तरमा जागरण अत्यन्त महत्वपूर्ण रहेको बताए । घर वरपर पानी जम्न नदिने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, विस्तरामा झुलको प्रयोग गर्ने तथा सरसफाइमा ध्यान दिने जस्ता उपाय अपनाएर लामखुट्टेको टोकाईबाट लाग्ने रोग नियन्त्रण गर्न सकिने निमित्त प्रमुख पोखरेलले बताए । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको नसर्ने रोगहरूको स्क्रिनिङ कार्यक्रमबारे समेत जानकारी गराउँदै उनले नागरिकलाई नियमित रुपमा ४ प्रकारका सुगर, ब्लड प्रेसर, उचाई तथा तौल परिक्षण गराएमा नसर्ने रोग लाग्नबाट बच्न सकिने बताए । निमित्त प्रमुख पोखरेलले कार्यालयले पाल्पाबाट मात्र २६ हजार व्यक्तिमा नसर्ने ४ प्रकारका चेकजाँच गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सञ्चार माध्यमबाट गाउँ–गाउँ बस्ती–बस्ती, टोल–टोल, व्यक्ति –व्यक्तिमा सूचना प्रवाह गर्दै लामखुट्टेको टोकाईबाट लाग्ने रोग नियन्त्रणमा सघाउ पुग्ने भएकाले त्यसतर्फ कार्यालयले ध्यान दिनुपर्ने बताए । नसर्ने रोगको प्रारम्भिक चरणमै पहिचान र व्यवस्थापन गर्न सकिएमा दीर्घकालीन स्वास्थ्य जोखिम घटाउन सकिने उनको भनाई छ । कार्यक्रममा सरोकारा निकाय, खानेपानी तथा सरसफाई कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई, पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीहरूले रोग नियन्त्रणका लागि समन्वयात्मक पहल आवश्यक रहेकोमा जोड दिएका थिए । स्वास्थ्य कार्यालयले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा आधारित रोकथाम र नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने जनाएको छ । कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलको अध्यक्षता, जनस्वास्थ्य अधिकृत होमनाथ आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।


