पाल्पा, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । अन्तिम मतगणना भएको इलाम क्षेत्र नम्बर १ को बुधबार समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएसँगै मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
जसअनुसार १ करोड ७ लाख ६९ हजार ५४३ सदर मत गणना गरिएको छ । फागुन २१ को निर्वाचनबाट चार वर्षअघि गठित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका निर्वाचनको इतिहासकै उच्च मतसहित शीर्ष स्थानमा रहेको छ । यसअघिको निर्वाचनको पहिलो दल नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिष्ट पार्टी चौथो स्थानमा रहेका छन् । जेन–जी आन्दोलनपछि बनेको श्रम संस्कृति पार्टी छोटो अवधिमै पाँचौँ स्थानमा रहेर राष्ट्रिय दल बन्न सफल भएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने छैटौँ स्थानमा झरेको छ । अन्य दलहरुले भने थ्रेस होल्ड कटाउनै सकेनन् ।
आयोगका अनुसार निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन् ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतगणना सकिएसँगै आयोगले दलहरूलाई समानुपातिक सिट संख्या तोकेर दिने छ । आयोगले दलहरूलाई आफ्नो क्लस्टरअनुसार पाएको उम्मेदवारको नाम पठाउन आग्रह गरेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछन् ।


