पाल्पा, नेकपा एमाले पाल्पाले केन्द्रीय सदस्य नारायण प्रसाद आचार्यको घरमा शोकसभा गरेको छ । आचार्यका बुवा ९३ बर्षीय दिल्ली प्रसाद आचार्यको यही फागुन १७ गते निधन भएको दुःखद घडीमा घरमै पुगी एमालेले शोकसभा आयोजना गरेको हो ।
निस्दी गाउँपालिकामै चुनाव प्रचार प्रसारको क्रममा आचार्यका बुवाको दुःखद निधन भएको थियो । शोकसभालाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले बुवा दिल्लीप्रसाद आचार्यको निधनले एमालेले एक सक्रिय र कम्युनिष्ट पार्टीलाई माथी उठाउन सधै सहयोग गर्ने सच्चा इमान्दार, अनुभवी कार्यकर्ता गुमाउनु परेको बताए । आचार्यलाई शोकको पिडा परेकै अवस्थामा अर्काे तिर प्रतिनिधिसभा निर्वाचनमा उपविजेता बन्नु पर्दा सिङ्गो पार्टीलाई पिडा माथि पिडा भए पनि आगामी दिनमा एमाले अझै शक्तिशाली भएर उत्रिने उनले बताए । निर्वाचनमा हार जित हुनु स्वभाविक भएको बताउँदै अध्यक्ष कंडेलले कार्यकर्तालाई निरास नहुन आग्रह गरे । शोकसभामा एमाले केन्द्रिय सदस्य आचार्यले बुवाले कम्युनिष्ट पार्टीप्रति देखाएको बाटो आफुले अनुसरण गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए । निर्वाचनमा भएको पराजयलाई स्वभाविक रुपमा लिदै आचार्यले १२ औं पून्यतिथी पछि मतदातालाई धन्यवाद तथा आभार व्यक्त गर्न जनताको घर दैलो गर्ने बताए ।
फागुन २१ गतेको निर्वाचनमा मतदान गर्ने सबै मतदाताप्रति उनले धन्यवाद दिदै निर्वाचनमा पराजय भएपनि पाल्पाको स र जनताको काममा निरन्तर लाग्ने प्रतिवद्धता जनाए । शोकसभामा पूर्वखोला गाउँपालिकाका समाजसेवी निलकण्ठ न्यौपानेले स्वर्गीय दिल्ली प्रसादको जिवनीबारे चर्चा गरे । शोकसभामा एमाले जिल्ला अध्यक्ष ओम बहादुर घर्तिले आचार्यको निधनले सिङ्गो पार्टी क्षेत्रमा ठूलो क्षती पुगेको बताए । शोकसभा पार्टी उपसचिव दिपक विश्वकर्माको सञ्चालनमा भएको थियो । शोकसभामा केन्द्रिय लेखा आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरे, केन्द्रिय सल्लाहकार परिषद सदस्य फर्सुराम भट्टराई, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठ सहित विभिन्न पालिकाका प्रमुख उपप्रमुख सहितका जनप्रतिनिधीहरु, एमाले गाउँ कमिटीका अध्यक्षसहित पदाधिकारीहरु, तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।


