पाल्पा,आज अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९११ मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै आइएको हो ।
महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई नारीका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । नारी आन्दोलनकी अभियान्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउन थालिएको हो ।महिला अधिकारको मुद्दा उठ्न थालेको समय भइसक्दा समेत अझै पनि महिला र पुरुषबीचको खाडल ठूलो छ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । कानुन पर्याप्त भए पनि कार्यान्वयन गर्ने निकाय महिलाप्रति सकारात्मक नहुँदा समस्या भएको कानुनविदहरु बताउँछन् ।
नेपालको संविधानमा महिलाको मौलिक हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ । संघ, प्रदेश र पालिकामा प्रतिनिधित्व सहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत अन्य महिला हिंसाका अनेकन रूप छन् । प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने ज्यूँका त्यूँ छन् । अझै पनि महिलाहरु आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रूपले विभेदीकरणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । मानव सभ्यातालाई ढुङ्गे युगदेखि आजको २१ औँ शताब्दीको आधुनिक युगसम्म आइपुग्दा पनि जसरी समाज विकासक्रम अगाडि बढेको छ त्यही क्रममा आधाभन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने महिला माथि लैङ्गिक विभेद एवं हिंसाको घटनामा न्यूनीकरण आउन सकेको छैन । पितृसत्तात्मक संरचनामा जकडिएको नेपाली समाजमा महिला र पुरुष एउटै रथमा दुई पाङ्गा एवं समानताको कुरा जतिसुकै गरिए पनि व्यवहारमा हिंसाको दुष्चक्रमा महिलाहरु भासिँदै जाने असहज परिस्थिति बन्दै गएको छ । महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर हुन्छन् भन्ने सोचबाट विकसित समाज अझै आफैँमा भेदभावयुक्त छ ।


