पाल्पा, यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाल्पामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आवश्यक सामग्रीसहित कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रतर्फ लागेका हुन् ।
यहाँ दुई निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । जहाँ ११८ वटा मतदान स्थलका २५३ वटा मतदान केन्द्र रहेका छन् । यहाँका दुईवटै निर्वाचन क्षेत्रमा कर्मचारीहरू मतदान स्थलमा खटिएका छन् । निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट मतदानका लागि चाहिने मतपत्रसहित ६० प्रकारका आवश्यक सामग्री बुझी कर्मचारी, सुरक्षाकर्मीहरू आ–आफ्नो मतदान केन्द्रमा खटिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहानैदेखि कर्मचारीको भीड लागेको देखिन्थ्यो । उनीहरू निर्वाचन सामग्री बुझेर रुजु गर्ने तथा मतदान स्थलसम्म पुग्ने व्यवस्थापनमा जुटेका थिए । उनीहरु निकै उत्साहका साथ मतदानका सरसमान बुझेर सुरक्षाकर्मीको साथमा मतदानस्थलतर्फ लागेका हुन् । मतदान केन्दमा कर्मचारी, सुरक्षाकर्मी, परक केन्द्रका कर्मचारीहरु बैठक बस्ने, कार्यविभाजन गर्ने, विभिन्न किसिमका सूचनाहरु टाँस गर्ने रैनादेवी मावि मतदान केन्द्रमा खटिएका मतदान अधिकृत शुरेस भुसालले बताए । पाल्पाका ११८ मतदान स्थलका २५३ केन्द्रमा मतपत्र सहित आवश्यक सरसमान लिएर पुगेका छन् । पाल्पाका अति दुर्गम क्षेत्रका मतदान अधिकृतहरु विहानै मतपत्र सहितका सामाग्री बुझेर मतदान स्थलमा पुगी सकेका छन् । मतदान स्थलमा पुगी सकेपछी मतदान केन्द्र बैठक गर्ने, मतदान स्थलका अन्य केन्द्रहरुसँग पनि सामुहिक बैठक बस्ने, मतदानस्थलमा विभिन्न प्रकारका सूचनाहरु टास गर्ने, सर्बदलिय बैठकको लागि स्थानीयस्तरमा रहेका राजनीतिक दलहरुलाई पत्राचार गर्ने काम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाका प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका ११८ मतदान स्थलको २५३ मतदान केन्द्रमा पुगेर सर्बदलिय बैठक सहित निर्वाचन आयोगले तोकेका निर्वाचन सम्वन्धी विभिन्न किसिमका सूचना टास्ने छन् ।
पाल्पाका दुई वटै निर्वाचन अधिकृतको कार्यालयदेखी टाढाका मतदान केन्द्रहरुमा विहानै, मध्यम दुरी भएका मतदान केन्द्रका कर्मचारीलाई दिउँसो र नजिकका मतदान केन्द्रका कर्मचारीलाई अन्तिम मत्रपत्र वितरण गरिएको छ । पाल्पाका ११८ वटै मतदान स्थलका २५३ वटा मतदान केन्द्रमा फागुन १८ गते नै सुरक्षाकर्मीको साथमा मतदान अधिकृत सहित कर्मचारी पुगी फागुन २१ को निर्वाचनको आवश्यक तयारीमा जुटेको पाल्पाका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पंगेनीले बताए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण रुपमा सम्पन्न गराउन मतदान स्थलमा पुगेका कर्मचारी सुरक्षाकर्मीहरु सक्रिय रहेका छन् । पाल्पाको क्षेत्र नम्बर १ मा ५२ मतदान स्थलमा १ सय १७ केन्द्र रहेका छन् भने क्षेत्र नम्बर २ मा ६६ वटा मतदान स्थलमा १ सय ३४ केन्द्र रहेका छन् । दुवै क्षेत्रमा गरी कुल २ लाख ७ हजार ४ सय ३६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।
निर्वाचनको सुरक्षाका लागि ७ सय ५१ नेपाल प्रहरी र १ हजार ४ सय १३ म्यादी प्रहरी परिचालन गरिएको छ । शसस्त्र प्रहरीको १६ वटा मोवाईल टोली र नेपाली सेनाको ४ वटा सिओवि, १० वटा पिओवि र सबै मतदान स्थलमा एसओवि परिचालन भएका छन् । दुई सिटका लागि ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोले पाल्पामा अब सबैको ध्यान फागुन २१ को मतदानतर्फ केन्द्रित भएको छ ।


