पाल्पा, यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा एक हजार ९ सय २३ जना अस्थायी मतदाता रहेका छन् । दुई वटा अस्थायी मतदान केन्द्रबाट उक्त मतदाताहरुले मतदान गर्ने छन् ।
जिल्ला निर्वाचन कर्यालय प्रमुख महेश शर्माका अनुसार यहाँका तानसेनस्थित दी फेमस महेन्द्र दल गण र कारागारमा अस्थायी मतदान स्थल तोकिएको छ । जहाँ कारागार मतदान केन्द्रबाट ६९ जना र महिन्द्र दल गणअन्तर्गतको मतदानस्थलबाट १ हजार ८ सय ५४ जना मतदाताले मतदान गर्ने छन् । अस्थायी मतदाताहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने गरी अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूले भने आफू खटिएकै केन्द्रबाट समानुपातिकतर्फको मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी शर्माले बताए । उनले निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न अस्थायी मतदाताको हकमा विशेष ध्यान दिइएको बताए ।
शर्माले भने, “हामीले कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दी लगायतका अस्थायी मतदाताहरूको मताधिकार सुरक्षित गर्न दुईवटा विशेष केन्द्रको व्यवस्था गरेका छौँ । निर्वाचनलाई समावेशी र उत्साहजनक बनाउन कुनै कसर बाँकी राखिएको छैन । ’’ पाल्पामा १९ सय २३ अस्थायी मतदाता प्रमुख शर्माले थपे, “निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको छ र कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति सजग रहन निर्देशन दिइएको छ ।” दुई निर्वाचन क्षेत्र रहेको पाल्पाका स्थायी २ सय ५१ र दुई अस्थायी गरी २ सय ५३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न २ हजार बढी कर्मचारी खटिने भएका छन् । ती केन्द्रमा १ हजार ५ सय बढी कर्मचारी खटिने छन् भने ५ सय बढी स्वयंसेवक मतदान केन्द्रमा खटिनेछन् । क्षेत्र नम्बर १ मा ५२ मतदान स्थलमा रहेका १ सय १७ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ मा ६६ मतदानस्थलमा १ सय ३४ मतदान केन्द्र रहेको छ । प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी तीन र एक जना सहयोगी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


